सुमन पोखरेल भन्छन्- वैदेशिक रोजगारीबाट फर्किनेलाई सुन ल्याउन दिनु हुँदैन (भिडियो)
काठमाडौं । विदेशमा काम गरेर स्वदेश फर्किंदा कामदारले सुन ल्याउन पाउने ब्यवस्था हटाउन पर्ने माग उठेको छ । यसरी सुन ल्याउन पाउने व्यवस्थाले कामदारहरुले सुन ल्याउने गरेका कारण रेमिट्यान्सको वृद्धिदरमा असर परेको भन्दै यस्तो व्यवस्था खारेज गर्नुपर्ने माग उठेको हो ।
नेपाल रेमिट्यान्स एसोशिएसनका अध्यक्ष तथा इन्टरनेशनल मनि एक्सप्रेस (आइएमइ) का प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन पोखरेलले यस्तो माग गरेका हुन् ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि सुझाब लिन राजधानीमा आयोजना गरेको कार्यक्रममा पोखरेलले भने, ‘विदेशमा काम गरेर फर्किने नेपाली कामदारहरुले गहनाका रुपमा ल्याउने सुन रोक्नुपर्छ । भरिया र कामदारहरुले सामान्य गहनाका रुपमा ल्याउने सुन पछि तरलतामा परिवर्तन गर्ने काम भइरहेकोले यसले देशको अर्थतन्त्रमा असर गरेको छ । ठुलो मात्रामा रेमिट्यान्सबाट आउने पैसा सुनमार्फत आएको छ ।’
यसका साथै भारतमा बढेको करले पनि असर गर्न सक्ने उनको भनाइ छ ।
विदशबाट नेपाली कामदारले पठाउने पैसा अनौपचारिक क्षेत्रबाट आएको पाखरेलले बताए । विदेशबाट आउने पैसा बैधानिक तवरबाट आएको सुनिश्चित गर्न पुन फर्किएर जाने कामदारहरुले विदेशबाट औपचारिक निकायबाट पैसा पठाएको प्रमाण पेश गर्नुपर्ने उनले सुझाब दिए ।
त्यस्तै विदेश जाने कामदारहरुलाई क्षमता विकास तालिम दिएर पठाएमा आम्दानी बढ्न गइ त्यसले देशको अर्थतन्त्रमा टेवा पुर्याउने र विदेशबाट फर्किका कामदारहलाई उद्यमी बन्न सुविधा दिनुपर्ने उनको सुझाब छ ।
विश्व लगायत छिमेकी मुलुक भारत र चीनमा डिजिटल बेस्ड पेमेन्ट सिस्टमहरुको सफल कार्यान्वयन भएको अवस्थालाई मध्यनजर गरि नेपालमा पनि यसलाई विशेष प्राथामिकता दिन समेत सुझाब पेश गरिएको छ ।
राष्ट्र बैंकले फाइनान्सियल लिट्रेसी सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्र्दै आएको भए पनि निजी क्षेत्रसँग सहकार्य गरेको खण्डमा रेमिट्यान्स फाइनान्सियल लिट्रेसी टेवा पुग्ने उनको भनाइ छ ।