मेलम्चीपछिको ठूलो खानेपानी आयोजना पोखरामा, लागत ४ अर्ब २१ करोड



काठमाडौं । पोखरामा खानेपानीको क्षेत्रमा अहिले सम्मकै ठूलो आयोजनाको काम सुरु हुने भएको छ । पोखरास्थित मर्दी खोलाको पानीलाई प्रशोधन गरेर शुद्धीकरण गरी पिउनका लागि योग्य बनाउने उद्देश्यले पोखरामा खानेपानी सुधार आयोजनाको काम सुरु गर्न लागेको हो ।

खानेपानी मन्त्रालयको उपत्यका बाहिर सुरु हुन लागेको यो पहिलो ठूलो आयोजना हो । मेलम्चीपछि मन्त्रालयको खानेपानीको क्षेत्रमा सुरु हुन लागेको यो दोस्रो ठूलो आयोजना हो । यो आयोजनाबाट कास्की पोखरा महानगरपालिका क्षेत्र भित्र दैनिक ४ लाख ५० लाख जनसंख्या प्रत्यक्ष लाभान्वित हुने छन् ।

आगामी ३ वर्षभित्र आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पोखरामा खानेपानी सुधार आयोजना सुरु गर्न जापान सरकारले नेपाललाई ४ अर्ब ८१ करोड रुपैंयाँ अनुदान दिने सम्झौता गरेको थियो ।

सोही सम्झौता अनुसार खानेपानी मन्त्रालय अन्तर्गतको नेपाल खानेपानी संस्थानले आयोजनाको काम अघि बढाउन लागेको छ । जापानले यो अनुदान रकम सिभिल ठेक्काको लागि दिएको संस्थानले जनाएको छ ।

जापानले दिएको कुल अनुदान रकममध्ये ४ अर्ब २१ करोडमा सिभिल कार्यका लागि जापानमै बोलपत्र आह्वान भएको थियोे । जसमध्ये हाजमा एन्दो कर्पोरेशन कम्पनीले अनुमानित लागत रकम भन्दा ८ दशमलव २ प्रतिशत कममा बोलपत्र कबोल गरेको थियो ।

हाजमा कम्पनी सँग संस्थानले २०७५ फागुन २४ गते सम्झौता गरेको थियो । हाजमा कम्पनीले ३ अर्ब ९४ करोड २७ लाख रुपैयाँमा उक्त कामको ठेक्का पाएको हो ।

खानेपानीको क्षेत्रमा यो अहिलेसम्मकै ठुलो आर्थिक सहयोग भएको संस्थानका महाप्रबन्धक डा. भुपेन्द्र प्रसादले बताए । अनुदान रकम पानी शुद्धीकरणका लागि ट्रिटमेण्ट प्लान्ट निर्माण र पाईपलाईन विस्तारमा खर्च हुने छ ।

दैनिक साढे ४ करोड लिटर पानी प्रशोधन गर्ने प्लान्ट मर्दी खोलामा राखिने र खानेपानी आपूर्तिका लागि १ सय किलोमिटर पाइप बिछ्याइने आयोजनाको डेपुटी प्रोजेक्ट म्यानेजर निरन महर्जनले जानकारी दिए ।

त्यस्तै खानेपानी भण्डारण गर्न २० लाख लिटरको ३ वटा रिजर्भवायर पानी ट्यांकी निर्माण गरिनेछ । पोखराको पस्र्याङ, फूलबारी र कोल पाटनमा रिजर्भवायर ट्यांकी निर्माण गर्न लागिएको डेपुटी प्रोजेक्ट म्यानेजर महर्जनले बताए ।

पोखरा खानेपानी सुधार तथा विस्तारको लागि याचियो इन्जिनियरिङ्ग कम्पनी लिमिटेडले विस्तृत डिजाइन गरेको थियो । सन् २००४ मा यसको सम्भाव्यता अध्ययन गरिएको थियो ।


क्लिकमान्डु