राष्ट्र बैंकका भेट्रान कार्यकारी निर्देशकहरुको पदावधी थप नहुने



काठमाडौं । सर्बोच्च अदालतले राष्ट्र बैंकलाई ३० वर्षे सेवा अवधी हटाउन सक्ने फैसला गरेपनि राष्ट्र बैंकबाट अवकास पाउन लागेका चारजना कार्यकारी निर्देशकको पदावधी भने थप नहुँने भएको छ ।

राष्ट्र बैंकले सर्बोच्च अदालतको फैसला अनुसार दोहोरो सेवा अवधी हटाउन सक्छ । यसको लागि राष्ट्र बैंक कर्मचारी विनियमावली २०६८ संसोधन हुनुपर्छ । राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु नारायण पौडेल,नरबहादुर थापा,भिष्मराज ढुंगाना र भरतशर्मा आचार्य शुक्रबारदेखि ३० वर्षे उमेरहदको कारण अनिवार्य अवकास पाउदैछन् ।

उनीहरु बिदामा बसेको एक महिना भइसक्यो । त्यो भन्दा केही दिन अगाडि राष्ट्र बैंकका कार्यकारी निर्देशक जनकबहादुर अधिकारीले अवकास पाइसके ।

राष्ट्र बैंकका कर्मचारी ऋतुराज लम्सालले दर्ता गरेको मुद्दामा सर्बोच्च अदालतले फैसला सुनाउदै राष्ट्र बैंक ऐन अनुसार कर्मचारी नियुक्ती तथा सेवा अवधी निर्धारण राष्ट्र बैंकले गर्न सक्ने उल्लेख गरेको छ । सर्बोच्चले पूर्ण पाठ सार्वजनिक गर्दै ३० वर्षे सेवा अवधी हटाउनको लागि लोकसेवाको परामर्श लिनु जरुरी नभएको निचोड निकालेको छ ।

राष्ट्र बैंकबाट अवकास पाउन लागेका चारजना कार्यकारी निर्देशकको पदावधी नै थप गर्नको लागि तत्कालै राष्ट्र बैंकको संचालक समितिको बैठक बस्ने सम्भावना नभएको राष्ट्र बैंकका एक संचालकले जानकारी दिए ।

‘यही ऐजेण्डाको लागि राष्ट्र बैंकको संचालक समितिको बैठक तत्कालै बस्दैन,पछि राष्ट्र बैंकले आफ्नो निर्णय गर्ने छ,’ती संचालकले भने ।

राष्ट्र बैंकले फैसलाको पूर्ण पाठको आधिकारिक जानकारी आएपछि कानून व्यवसायीसँगको रायपछि के गर्ने भन्ने निर्णय गर्ने जनाएको छ ।

राष्ट्र बैंकको संचालक समितिको बैठकले सेवा अवधीमा एकरुपता ल्याउन ३० वर्षे हटाउने निर्णय गरेको थियो । त्यसको राय लोकसेवासँग लिएको थियो ।

लोकसेवाले संघिय निजामति ऐन बन्दै गरेको हुँदा तत्काल अवकासको निर्णय परिवर्तन नगर्न राय दिएको थियो ।


क्लिकमान्डु