इन्भेष्टमेन्ट बैंकले २ अर्बको ऋणपत्र जारी गर्ने, नेप्सेमा कारोबार हुने, कति पाइन्छ ब्याज ?



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ‘नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०८२’ नामक ऋणपत्र किन्नेले १०.५० प्रतिशत ब्याजदर पाउने छन् । ब्याजदर ६÷६ महिनामा भुक्तानी गरिने बैंकले जनाएको छ ।

ऋणपत्र यही २४ गतेबाट निष्काशन हुनेछ । ऋणपत्र निष्काशनका लागि धितोपत्र बोर्ड, राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयले स्वीकृति दिइसकेको छ ।

सो ऋणपत्रलाई इन्भेष्टमेन्ट बैंक बाहेक अन्य बैंकमा कर्जा सुरक्षण अथवा धितोस्वरुप ऋण प्रयोजनको लागि योग्य मानिने र थप, स्टक एक्सचेन्जमा समेत कारोबार हुने गरी व्यवस्था गरिएको बैंकले जनाएको छ ।

बैंकले बफर क्यापिटलको व्यवस्थापनका लागि थप पूँजीको रुपमा ऋणपत्र निष्काशन गर्ने भएको हो । र, यसअघि पनि ७५ करोड रुपैयाँको ‘नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०७८’ र ५० करोड रुपैयाँको ‘नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०७७’ लगायत अन्य निष्काशनहरु पनि गरेको थियो ।

बैंकले प्रतिऋणपत्र १००० रुपैयाँका दरले २० लाख कित्तामध्ये ८ लाखकित्ता सर्वसाधरणका लागि निष्काशन गर्ने छ । र, सो मध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने संस्थागत लगानीकर्ताहरुले प्राइभेट प्लेसमेन्टमार्फत् अधिकतम हद लागू नहुने गरी आवेदन दिन सक्नेछन् ।

७ बर्ष अवधिको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा सिद्धार्थ क्यापिटलले जिम्मा पाएको छ ।

हाल बैंकले काठमाण्डौं उपत्यकाभित्र २४ तथा उपत्यका बाहिर ५६ वटा शाखा संचालनमा ल्याएको छ । सातवटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा, १ सय १२ वटा एटिएम तथा १४ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखारहित बैंकिङ सेवामार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु