तीन बैंकमा सिइओ खाली, नेपालमा रत्नराज,सनराइजमा जनकको चर्चा र ग्लोबलमा महेशले फुल सिइओ पाउने



काठमाडौं । अहिले तीनवटा वाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृत(सिइओ) पद खाली रहेको छ ।

५१ प्रतिशत सरकारी लगानी रहेको नेपाल बैंक तथा सनराइज बैंक र ग्लोबल आइएमई बैंकमा सिइओ पद खाली छ ।

नेपाल बैंकमा देवेन्द्रपताप शाहको कार्यकाल सकिएपछि सिइओ पद खाली भएको हो । सनराइजमा रत्नराज बर्जाचार्यको कार्यकाल सकिएपछि खाली भएको छ । ग्लोबलमा जनक शर्मा पौडेलले पुरा कार्यकाल नसक्दै राजिनामा दिएपछि खाली भएको हो ।

खाली भएको नेपाल बैंकमा एउटा समुहले रत्नराज ल्याउनको लागि लागेको छ । यद्यपी रत्नराजले केही भनेका छैनन् ।

सरकारले संख्या घटाउने गरी कृषि विकास बैंकसँग नेपाल बैंकको मर्जर गराएमा त्यो बैंकलाई रत्नराजले समाल्ने तयारी भएको छ ।

‘सरकारले संख्या घटाउनको लागि नेपाल बैंक र कृषि विकास बैंक मर्जर गराएमा रत्नराजलाई बैंक चलाउनको लागि ल्याउनुपर्ने हुन्छ,’नेपाल बैंक स्रोतले भन्यो ।
बैंकले अहिले सिइओ नियुक्ती गृहकार्य भने सुरु गरेको छैन ।

बजेटमा मर्जरको विषय कसरी आउछ त्यसपछि मात्र सिइओ नियुक्तीको प्रक्रिया सुरु हुने बैंकले स्रोतले जानकारी दिएको छ ।

‘यदी बजेट मार्फत नै संख्या घटाउने गरी बिग मर्जरको कुरा आएमा रत्नराज ल्याउनुपर्छ, होइन भने अरु नै बिकल्प खुल्ला हुन्छ,’ बैंक स्रोतले भन्यो ।
रत्नराजले कार्यकाल पुरा गरेर खाली भएको सनराइज बैंकले भने धेरै चरणमा जनक शर्मा पौडेलसँग कुरा गरेको छ । त्यस बाहेक माछापुच्छ्रेमा कार्यकाल पुरा नगरेर बाहिरिएका निरज श्रेष्ठ, सेच्चुरीमा सिइओ भएर कुमारी डेपुटी हुन गएका अनुजमणी तिमिल्सिना देखि एनआईसी एशियामा कार्यकाल पुरा नगरेर बाहिरिएका लक्ष्मण रिसालसँग समेत कुराकानी भएको छ । त्यो बाहेक अन्यसँग समेत कुराकानी भएको छ ।

रत्नराज बाहिरिएपछि अहिले सनराइजको नेतृत्व आशा अधिकारी राणाले गरेकी छन् ।

ग्लोबल आइएमई बैंकमा पनि सिइओ खाली भएको ३ महिनाभन्दा बढी भइसकेको छ ।

जनकशर्मा पौडेलले राजिनामा दिएपछि ग्लोबलमा अहिले कामु सिइओको जिम्मेवारी महेश शर्मा ढकालले गरेका छन् । ग्लोबलले केही वाणिज्य बैंकसँग मर्जरको समेत कुरा गरेको छ । यदी त्यो मर्जर भएमा ढकाल सिइओ हुने छैनन् । मर्जर नभएमा भने ढकालले नै कामुबाट फुल सिइओको जिम्मेवारी पाउने छन् ।


क्लिकमान्डु