५ बैंकको रिपोर्टः कुन बैंककाे अवस्था कस्तो ?



काठमाडौं । सोमबार ५ वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । २८ वटा वाणिज्य बैंकमध्ये सबै बैंकको नाफामा निकै सुधार देखिएको छ । अधिकांश बैंक अर्बपति क्लबमा प्रवेश गरेका छन् ।

अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गरेका बैंकमध्ये सबैभन्दा बढी नाफा राष्ट्रिय वाणिज्य बैंकको देखिएको छ । राष्ट्रिय वाणिज्य बैंकको नाफा सबैभन्दा बढी ३ अर्ब ४९ करोड ९३ लाख ८ हजार रुपैयाँ खुद नाफा छ ।

सबै बैैंकको नाफा बढ्दा पनि सेन्चुरी बैंकको नाफामा भने गिरावट देखिएको छ । बैंकको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा ९.०६ प्रतिशतले घटेको देखिएको छ । प्रकाशित ५ वटा बैंकका अन्य वित्तीय विवरण भने यस्तो छ ।

जनता बैंक: बैंकले चालु आवको तेस्रो त्रैमाससम्ममा १ अर्ब २ करोड ३७ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको तेस्रो त्रैमासभन्दा चालु आवको सोही अवधिमा बैंकको नाफा ६०.५६ प्रतिशतले बढी छ ।

गत वर्षका यही अवधिमा बैंकको नाफा ६३ करोड ७५ लाख ९१ हजार रुपैयाँ थियो । यो अवधिमा आइपुग्दा बैंकको वितरणयोग्य नाफा ६१ करोड ७३ लाख ७५ हजार रुपैयाँ छ ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा देखिएको सुधारसँगै बैंकको नाफा बढेको छ । चालु आवको तेस्रो त्रैमासमा आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ४६.६३ प्रतिशत र सञ्चालन नाफा ५६.२८ प्रतिशतले बढेको छ ।
बैंकको चालु आवको तेस्रो त्रैमासमा खुद ब्याज आम्दानी २ अर्ब ४५ करोड ९ लाख ४ हजार रुपैयाँ छ । गत वर्षको सोही अवधिमा १ अर्ब ६७ करोड १६ लाख ७३ हजार रुपैयाँ थियो ।

यता सञ्चालन मुनाफा १ अर्ब ४७ करोड २८ लाख २९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा ९४ करोड २३ लाख ९७ हजार रुपैयाँ थियो । ८ अर्ब ७ लाख ८५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ७५ करोड २७ लाख रुपैयाँ जम्मा भएको छ । त्यस्तै, ७० अर्ब ४४ करोड ९७ लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ६४ अर्ब ७० करोड १० लाख ८७ हजार रुपैयाँ ऋण लगानी गरेको छ ।

बैंकले खराब कर्जा घटाएको छ । गत वर्ष १.९५ प्रतिशत खराब कर्जा रहेकोमा चालु आवको तेस्रो त्रैमासमा घटाएर १.२१ प्रतिशतमा झारेको छ । १७ रुपैयाँ ६ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ७ पैसा छ ।

एनआईसी एशिया बैंकः एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अवधिमा बैंकले दुई अर्ब २७ करोड ६४ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिको तुलनामा बैंकको नाफा १४५.४० प्रतिशतले बढेको छ ।

बैंकको गत आवको सोही अवधिमा नाफा ९२ करोड ७६ लाख ३६ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ५ करोड १२ लाख ३ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १ सय ४९ प्रतिशतले बढेर ५ अर्ब ३२ करोड ३६ लाख ५७ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैैंकको खुद ब्याज आम्दानी २ अर्ब ६५ करोड ५२ लाख ५२ हजार रुपैयाँ थियो ।

त्यस्तै बैंकको सञ्चालन मुनाफा पनि १४८.१० प्रतिशतले बढेर ३ अर्ब २२ करोड ३९ लाख ५४ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा १ अर्ब २९ करोड ९४ लाख ३० हजार रुपैयाँ थियो । ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार रुपैयाँ चुक्ता पूँजी भएको बैंकमा १४ अर्ब २८ करोड ८४ लाख ६९ हजार रुपैयाँ जगेडा कोषमा जम्मा भएको छ ।

बैंकले चैत मसान्तसम्म एक खर्ब ५४ अर्ब १३ करोड ५१ लाख ८० हजार रुपैयाँ निक्षेप संकलन गरी बैंकले एक खर्ब ४१ अर्ब ५५ करोड ५८ लाख ९४ हजार रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ । यो अवधिमा बैंकको खराब कर्जा बढेर ०.४५ प्रतिशतमा पुगेको छ । गत आवको सोही अवधिमा यस्तो कर्ता ०.२२ प्रतिशत रहेको थियो । ३४ रुपैयाँ ७१ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ७४ पैसा रहेको छ ।

सिभिल बैंक: सिभिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले यो अवधिमा ४९ करोड ३८ लाख ९२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिको तुलनामा बैंकको नाफा ४७.२० प्रतिशतले बढेको छ ।

गत आवको सोही अवधिमा बैंकको नाफा ३३ करोड ५५ लाख ५ हजार रुपैयाँ थियो । यो अवधिमा बैंकको वितरणयोग्य नाफा २२ करोड ३० लाख ३३ हजार रुपैयाँ छ ।
बैंकको खुद ब्याज आम्दानी गत आवको तेस्रो त्रैमासको तुलनामा ७०.२० प्रतिशतले बढेर १ अर्ब ५७ करोड ३६ लाख ५१ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ९२ करोड ४६ लाख ९५ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै बैंकको सञ्चालन मुनाफा २८.२३ प्रतिशतले बढेर ७६ करोड ५७ लाख ६२ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ५९ करोड ७१ लाख ६६ हजार रुपैयाँ रहेको थियो । ८ अर्ब ३३ लाख ९० हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १ अर्ब ६३ करोड ९९ लाख ९५ हजार रुपैयाँ रहेको छ । ३९ अर्ब ९२ करोड ७९ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ४१ अर्ब ४१ करोड २० लाख २९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

चालु आवको तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकको खराब कर्जा बढेर ३.९६ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा बैंकको खराब कर्जा ३.७४ प्रतिशत थियो । प्रतिसेयर आम्दानी ६ रुपैयाँ १७ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ०१ पैसा छ ।

सेन्चुरी बैंकः सेन्चुरी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६१ करोड ६ लाख ७१ हजार खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । गत वर्ष यसै अवधिमा ६७ करोड १५ लाख २६ हजार रहेको खुद नाफा अहिले ९.०६ प्रतिशतले घटेको छ । बैंकको वितरणयोग्य नाफा ३४ करोड ५९ लाख ९६ हजार रुपैयाँ मात्र छ ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ४५.२६ प्रतिशतले बढेर १ अर्ब ९७ करोड १७ लाख २१ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ३५ करोड ७३ लाख ७२ हजार रुपैयाँ थियो । त्यस्तै बैैंकको सञ्चालन मुनाफा ६.७६ प्रतिशतले घटेर ८७ करोड ३३ लाख ७१ हजार रुपैयाँ छ । गत आवको सोही अवधिमा बैंकको सञ्चालन मुनाफा ९३ करोड ६६ लाख ४४ हजार रुपैयाँ थियो ।

चुक्ता पुँजी ८ अर्ब २५ करोड ४ लाख ६२ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १ अर्ब १८ करोड २८ लाख १३ हजार रुपैयाँ छ । ५७ अर्ब ८२ करोड ३३ लाख ६३ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ५७ अर्ब ३९ करोड ९३ लाख ६४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको रिपोर्टमा उल्लेख छ । त्यस्तै, खराब कर्जा १.५३ प्रतिशत रहेको बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ८७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ भने १२४ रुपैयाँ ८६ पैसा छ ।

राष्ट्रिय वाणिज्य बैंकः राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ४९ करोड ९३ लाख ८ हजार रुपैयाँ खुद नाफा छ । यो गत वर्षको सोही अवधिको तुलनामा १३.४३ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा बैंकको खुद नाफा ३ अर्ब ८ करोड ५० लाख ११ हजार रुपैयाँ थियो । बैंकको वितरणयोग्य नाफा ३ अर्ब ४१ करोड ९ लाख २ हजार रुपैयाँ छ ।

बैंकको खुद ब्याज आम्दानी २५.२९ प्रतिशतले बढेर ७ अर्ब ३७ करोड ९७ लाख ८१ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ६ अर्ब १९ करोड २ लाख ३१ हजार रुपैयाँ रहेको थियो । यस्तै सञ्चालन मुनाफा १३.४२ प्रतिशतले बढेर ४ अर्ब ८६ करोड २७ लाख ७२ हजार रुपैयाँ छ । गत आवको सोही अवधिमा ३ अर्ब ८८ करोड ९ लाख २० हजार रुपैयाँ रहेको थियो ।

९ अर्ब ४७ लाख ९५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिजर्भ कोषमा १४ अर्ब ९ करोड ७ लाख ५३ हजार रुपैयाँ छ । १ खर्ब ७२ अर्ब ७९ करोड ८६ लाख ८९ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ३७ अर्ब २ करोड ९४ लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आवको तेस्रो त्रैमासमा २.९० प्रतिशत खराब कर्जा रहेको बैंकको चालु आवको सोही अवधिमा ४.२८ प्रतिशत रहेको छ ।


क्लिकमान्डु