बैंकबाट ब्याज अनुदानको ऋण लिएर उच्च शिक्षा अध्ययन गर्नेको संख्या बढ्यो, कुन क्षेत्रमा कति ऋण ? (सूचिसहित)



काठमाडौं । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने व्यवस्था गरेसँगै बैंक तथा वित्तीय संस्थाहरुले उच्च शिक्षा अध्ययन गर्न ऋण बढाउन थालेका छन् ।

बैंकहरुले उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जामा १ करोड ३३ लाख रुपैयाँ ऋण लगानी गरेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाका अनुसार ०७५ चैत मसान्तसम्ममा ५५ जनाले यस्तो ऋण लिएका छन् । वाणिज्य बैंकहरुले ५३ जनालाई १ करोड १८ लाख ८४ हजार र विकास बैंकहरुले २ जनालाई १४ लाख ८६ हजार रुपैयाँ यस्तो ऋण दिएका हुन् ।

सरकारबाट ५ प्रतिशत ब्याज अनुदानमा बैंकहरुले यस्तो कर्जा प्रवाह गर्दै आएका छन् ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि-२०७५ अनुसार उक्त कार्यविधिमा भएको व्यवस्था अनुसार चैत मसान्तसम्म १४ हजार ९२३ जनाले २५ अर्ब ३१ करोड ९५ लाख ७ हजार रुपैयाँ ऋण लगानी भएको छ । जसमा सबैभन्दा बढी व्यवसायिक तथा पशुपन्छी कर्जामा ऋण प्रवाह भएको छ ।

व्यवसायिक तथा पशुपन्छीतर्फ १४ हजार ६३९ जनालाई बैंक तथा वित्तीय संस्थाले २५ अर्ब १८ करोड ३१ लाख ८ हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमध्ये वाणिज्य बैंकले १४ हजार २१२ जनालाई २३ अर्ब ६१ करोड ८८ लाख ८२ हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

त्यसैगरी, विकास बैंकले संस्थाले ४२३ जनालाई १ अर्ब ४९ करोड १० लाख २२ हजार रुपैयाँ र फाइनान्स कम्पनीले संस्थाले ४ जनालाई ७ करोड ३२ लाख ४ हजार रुपैयाँ कर्जा लगानी गरेका छन् ।

राष्ट्र बैंकका अनुसार शिक्षित युवा स्वरोजगार कर्जा ६ जनाले २५ लाख रुपैयाँ मात्रै लिएका छन् । यो कर्जा वाणिज्य बैंकहरुले मात्रै दिएका छन् ।

सहुलियत कर्जामा महिला उयद्यामशील कर्जामा पनि आकर्षण देखिएको छ । चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले १ सय ७० जनालाई ९ करोड ७६ लाख ४ हजार रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुले १ सय ६६ जनालाई ९ करोड ५६ लाख ४८ हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

त्यस्तै, विकास बैंकहरुले ४ जनालाई १९ लाख ५७ हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकका अनुसार विदेशबाट फर्केर स्वेदमा नै विभिन्न परियोजना सुरु गरेका ११ जना युवालाई ७८ लाख १० हजार रुपैयाँ लगानी गरेका छन् । यो शिर्षकमा वाणिज्य बैंकहरुले मात्रै ऋण दिएका छन् ।

चैत मसान्तसम्ममा १५ जनाले दलित समुदाय व्यवसाय विकास कर्जा लिएका छन् । जसमा वाणिज्य बैंकहरुल ११ जनालाई ५६ लाख ९९ हजार कर्जा प्रवाह गरेका छन् भने ‘विकास बैंकहरुले २ जनालाई १२ लाख १६ हजार र फाइनान्स कम्पनीले २ जनालाई ९ लाख ५७ हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकका अनुसार भूकम्प पीडितहरुको निजी आवास निर्माणका लागि २७ जनाले ७२ लाख ४४ हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस्तो कर्जा वाणिज्य बैंकहरुले २३ जनालाई ६१ लाख २४ हजार विकास बैंकहरुले ४ जनालाई ११ लाख १९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बताइएको छ । 


क्लिकमान्डु