इनकम ग्यापः कर्मचारीले वर्षदिनमा कमाउने पैसा सीइओले आधा दिनमै कमाउँछन्



काठमाडौं । एक वर्षमा सामान्य कर्मचारीले कमाउने तलबभन्दा ठूला प्रतिष्ठित भनिएका संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुले वर्षको एकाध दिनमै बढी कमाई गर्ने गरेको एक प्रतिवेदन सार्वजनिक भएको छ ।

ब्लुमवर्गले गरेको अध्ययन अनुसार विश्वका २२ देशका प्रमुख कार्यकारी अधिकृत र औसत कर्मचरीको तलबको अन्तर विश्लेषण गरिएको छ ।

अमेरिका र भारतका कार्यकारीले बेलायतमा भन्दा पनि छिट्टै औसत कर्मचारीको वर्ष दिनको भन्दा बढी कमाउने गरेको पाइएको छ ।

अमेरिकामा प्रमुख कार्यकारीले २ दिनभन्दा कम दिनमा नै कर्मचारीले वर्षदिनमा कमाउने भन्दा बढी कमाउने गरेका छन् । त्यो भनेको १.२२ दिनमा नै अमेरिकन कार्यकारीले कर्मचारीले वर्षदिनमा कमाउने भन्दा बढी कमाउने गरेका छन् ।

म्याकडोनाल्ड लगायतका कम्पनीका प्रमुख कार्यकारीले १ वर्षमा खोने तलब सामान्य कर्मचारीले ३ हजार १०१ वर्ष लाग्ने ब्लुमवर्गको अध्ययनले देखाएको छ ।

अमेरिकामा बढी तलब खाने प्रमुख कार्यकारी संख्या समेत उच्च रहेको छ । उनीहरुले औसतमा १ करोड १० लाख अमेरिकी डलर बराबरको तलब थाप्छन् । त्यो भनेको हालको नेपाली रुपैयाँमा परिवर्तन गर्दा १ अर्ब १२ करोड जति हुन आउँछ ।

बेलायती प्रमुख कार्यकारीले जनवरीको ४ तारिख भित्रै औसत कर्मचारीले वर्षदिनमा कमाउने भन्दा बढी तलब लिइसकेका हुन्छन् । यस्तै यूरोपेली देशमा सामान्य कर्मचारीको वार्षिक रुपमा कमाउने तलबभन्दा बढी त्यहाँका कार्यकारीले ५ दिनमा नै कमाउने गरेका छन् । विश्वभर प्रमुख कार्यकारीको खानपान, उठबस तथा तलब समेत उच्च रहेको छ ।

नेपालमा पनि बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी तलब अरु सामान्य कर्मचारीको भन्दा उच्च रहेको छ ।

ब्लुमवर्गले विश्वव्यापी रुपमा कार्यकारीको तलब इन्डेक्सको बारेमा अध्ययन गरेको थियो । उसले भनेको छ यसले आर्थिक रुपमा ठूलो असमानता त देखाएको नै छ ।

यस्तै उसले भनेको छ यूरोपेली देशका २५ प्रमुख कार्यकारीले सन् २०१६ मा मात्रै औसत कर्मचारीले वर्षदिनमा कमाउने तलब उनीहरुले आधा दिनमा नै कमाउने गरेका पाइएको छ ।


पुष्प दुलाल