नक्कली भूकम्प पीडितले पैसा फिर्ता गरेनन्



काठमाडौं । सरकारले नक्कली भूकम्प पीडितले पनि रकम बुझेको भन्दै रकम फिर्ता गर्न ताकेता गर्यो । पुनः निर्माण प्राधिकरणले सो विषयलाई महत्वका साथ सम्प्रेषण गर्ने प्रयास पनि गर्यो ।

प्राधिकरणले यही पुस १५ गतेसम्म नक्कली भूकम्प पीडितले रकम फिर्ता गर्ने ताकेता गरेको भएपनि अत्यन्तै न्यूनले मात्रै रकम फिर्ता गरेको पाइएको छ । रकम फिर्ता गर्नेको संख्या एकाध मात्रै रहेको बताइन्छ ।

सरकारी निकाय आफैले संकलन गरेको तथ्यांकका आधारमा दिइएको रकम फिर्ता लिने भन्दै सूचना प्रकाशित गरेको भन्दै केहीले सरकारी निर्णयको आलोचना समेत गरेका थिए ।

तर पछिल्लो समय सरकारले गुनासाका आधारमा पीडित थप्दै लगेको छ । तर नक्कली पीडित भन्दै विगतमा लिएको पैसा फिर्ता गर्न ताकेता गरेपछि वास्तविक पीडित भने मर्कामा पर्ने अवस्था आएको छ ।

पटक पटक लाभग्राही सूचीमा पेश गरिदिन भन्दै अनुरोध गर्ने सोझा नागरिकलाई भने सरकारले सम्बोधन गरेको छैन । तर विगतमा सरकारी तथ्यांककै आधारमा पहिलो किस्ता वापत रु ५० हजार लिएका तर नक्कली भनिएकालाई भने रकम फिर्ता गर्न प्राधिकरणले आग्रह गरेको हो ।

गोरखा भूकम्का कारण ८ लाख २३ हजार घर भत्किएका थिए । ती मध्ये ७ लाख ३८ हजारले पहिलो किस्ता बुझेका छन् । ती मध्ये ५ लाख ७८ हजारले मात्रै घर बनाउन सुरु गरेका छन् । घर बनाउन सुर नै नगरेका २ लाख मध्ये पचास प्रतिशत बढी लाभग्राहीले झुट्ठा विवरण दिएर लाभग्राहीको सूचीमा नाम लेखाएको हुन सक्ने प्राधिकरणको दावी छ ।

झुक्याएर पैसा लिएको र घर निर्माण समेत नगरेको भन्दै प्राधिकरणले कसीकसाउ सुरु गरेको छ । तर आफैले दिएको परिचयत्र र लाभग्राही सूचीमा राखेको व्यक्ति कसरी नक्कली पीडित भए भन्ने बारेमा प्राधिकरणले केही बताएको छैन । तर केही भूकम्प पीडितले भने सरकारले दिएको रकमबाट घर निर्माण गर्ने रकम नपुग्दै भन्दै फिर्ता पनि गर्न थालेका छन् ।

प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरेका अनुसार केही जिल्लामा नक्कली भूकम्प पीडितले पैसा लगेको भन्ने उजुरीका आधारमा आवश्यक कारवाही अगाडि बढाएको बताउँछन् । तर विगतमा आफैले लाभग्राही सूचीमा राखेको , परिचय पत्र दिएको, पहिलो किस्ता समेत प्रदान गरेकालाई तिमी नक्कली पीडित हौं भन्ने आधार के हो भन्ने बारेमा प्राधिकरणले केही बताएको छैन ।

भूकम्प गएको ४ वर्ष पुग्न लाग्दा समेत देशव्यापी रुपमा पुनः निर्माणको काम प्रभावकारी हुन सकेको छैन । भूकम्पका कारण भत्किएका सम्पदा निर्माणमा समेत सरकारले ध्यान दिन सकेको छैन । काठमाडौंको धरहरा पुनः निर्माणको काम सुरु भएपनि रानीपोखरी कहिले र कसरी पुनः निर्माण हुन्छ भन्ने बारेमा कुनै ठेगान छैन ।

सरकारले रानीपोखरी निर्माणमा ध्यान नदिएको भन्दै नेपाली काँग्रेस निटको नेपाल विद्यार्थी संघले रानीपोखरीमा नै फुटवल खेलेर सरकारको विरोध गर्यो । काठमाडौँ दरबार स्क्वायरको काम सुरु भएपनि अन्य क्षेत्रको काम सुरु भएको छैन । काष्ठमण्डपको पुनः निर्माण पनि रोकिएको छ ।

यस्तै दातृ निकायलाई पुनः निर्माणको जिम्मा दिएका सम्पदा तथा विद्यालयको काम समेत अगाडि बढेको छैन । विशेष गरी भारत सरकारको अनुदानमा निर्माण हुने भनिएका स्थानको अवस्था उस्तै रहेको छ । स्वास्थ्यचौकी तथा विद्यालय भवनहरुको पुनः निर्माणको काम समेत सुरु भएको छैन ।

यस्तै जोखिमपूर्ण बस्तीका रुपमा रहेका स्थानको स्थानान्तरण तथा नयाँ स्थानको छनोटको काम समेत हुन सकेको छैन । बरु आफैले लाभग्राही सूचीमा राखेका व्यक्तिलाई तिमीहरु नक्कली हौं कि जस्तो लाग्यो भन्दै पैसा फिर्ता देऊ भन्ने प्रवृत्ति भने बुझिनसक्नु रहेको आलोचकहरुको भनाइ छ


क्लिकमान्डु