सहकारीलाई पैसा बाँड्न राष्ट्र बैंकबाट अर्थमन्त्रीले १ अर्ब रुपैयाँ खोसे



काठमाडौं । सहकारी संस्थाहरुलाई सहुलियत ब्याजदरमा राष्ट्र बैंकले उपलब्ध गराउँदै आएको १ अर्ब रुपैयाँ अर्थ मन्त्रालयले खोसेको छ ।

अर्थमन्त्री युवराज खतिवडाको प्रस्ताबमा केही दिनअघिको मन्त्रिपरिषदको बैठकले राष्ट्र बैंकले सञ्चालन गर्दै आएको स्वाबलम्बन कोषको सो रकम वितरण गर्ने जिम्मा साना किसान विकास बैंकलाई दिने निर्णय गरेको छ ।

‘राष्ट्र बैंकले सञ्चालन गर्दै आएको स्वाबलम्बन कोषको रकम सञ्चालन गर्ने जिम्मा सरकारले साना किसान विकास बैंकलाई दिने निर्णय गरेको छ,’ अर्थ मन्त्रालय स्रोतले भन्यो ।

स्वाबलम्बन कोषमा सरकार र राष्ट्र बैंक दुबैको पैसा छ । लामो समयदेखि राष्ट्र बैंकले कोषबाट सहकारी संस्थाहरुलाई ८ प्रतिशत ब्याजदरमा प्रति सहकारी ३० देखि ५० लाख रुपैयाँ दिँदै आएको थियो । राष्ट्र बैंकले तोकेको समयमा पैसा तिर्ने सहकारी संस्थालाई राष्ट्र बैंकले ७५ प्रतिशत ब्याज फिर्ता गर्थ्यो । यसो गर्दा इमानदार भएर कारोबार गर्ने सहकारी संस्थाले २ प्रतिशत ब्याजदरमै कोषको पैसा चलाउन पाउँथे ।

राष्ट्र बैंकका अधिकारीहरुका अनुसार स्वाबलम्बन कोषमा अहिले ९८/९९ करोड रुपैयाँ छ ।

‘यो सरकारकै पैसा भएकाले सरकारले सञ्चालनको जिम्मा अर्को कुनै निकायलाई दिन पाउँछ,’ स्रोतले भन्यो, ‘तर, लामो समयदेखि राष्ट्र बैंकले सञ्चालन गर्दै आएको कुरा खोस्नुको चाहीँ विषेश अर्थ वा स्वार्थ्य हुन सक्छ ।’


पुष्प दुलाल