अमेरिकी नाकाबन्दीप्रति उत्तर कोरियाको चेतावनी
सोल । उत्तर कोरियाले अमेरिकाद्धारा हालै जारी गरिएको नाकाबन्दीप्रति आपत्ति जनाएको छ । उत्तर कोरियाले अमेरिकाले गराएको सो नाकाबन्दीका कारण उत्तर कोरियामा निशस्त्रीकरणसम्बन्धी कार्यक्रमलाई सदाका लागि बन्द गर्नसक्ने भनी चेतावनी दिएको हो ।
यस वर्ष गएको जुन महिनामा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको वार्तापछि उत्तर कोरियामा निशस्त्रीकरणको विषयमा सहमति भएको थियो । तरपनि सो विषयमा पछिल्लो समयमा प्रगति हुन सकिरहेको छैन ।
सिंगापुर बैठकमा भएको सहमतिअनुसार यी दुई नेताले उत्तर कोरियामा निशस्त्रीकरण गर्ने बारेमा हस्ताक्षर गरेका थिए । तर त्यसपछिका दिनहरु सहज हुन सकेका छैनन्, वार्तामा पछिल्लो समयमा अवरोध उत्पन्न हुने गरेको छ ।
अमेरिकाले अहिलेकै अवस्थामा विना शर्त उत्तर कोरिया निशस्त्रीकरण गरोस् भन्नेमा छ । तर पनि यस विषयमा उत्तर कोरियाले भने अमेरिकाले लगाउँदै आएका नाकाबन्दीहरुलाई फुकाइदेओस र हटाओस भन्ने चाहन्छ ।
अहिले उत्तर कोरियाले अमेरिकाले लगाएका नाकाबन्दीहरु तत्कालै नहटाउने हो भने निशस्त्रीकरणको प्रक्रिया पनि आरम्भ नहुने र आगामी दिनमा पनि यो प्रक्रियाले कहिल्यै पूर्णता नपाउने भनेको छ ।
अमेरिकाले गत हप्ता उत्तर कोरियाली तीन अधिकारीका विरुद्धमा मानवअधिकार हनन्को आरोप लगाएको छ । उनीहरुका विरुद्ध पनि अमेरिकाले नाकाबन्दी जारी गरेको छ । तीमध्येका एकजना चो योङ हाय उत्तर कोरियाली नेता किमका दाहिने हात मानिन्छन् ।
उत्तर कोरियाली सरकारको विज्ञप्तिको उद्धृतगर्दै यहाँको सरकारी समाचार समिति केसिएनएले भनेको छ-अमेरिकी राष्ट्रपति ट्रम्पले बारम्बार आफ्ना अभिव्यक्तिबाट उत्तर कोरियासँगको सम्बन्धमा सुधार ल्याउने चाहन्छन् तर पनि अमेरिकी विदेश मन्त्रालयले भने बारम्बार उत्तर कोरियाका विरुद्ध नाकाबन्दीका साथै सम्बन्धलाई गत वर्षकै अवस्थामा पु¥याउने खेल प्रदर्शन गरिरहेको छ ।
अहिले अमेरिकी विदेश मन्त्रालयले हरेक हप्ताजस्तो विज्ञप्ति प्रकाशन गरेर उत्तर कोरियाल पछिल्लो समयमा कपटपूर्ण काममा लागेको र उसले निशस्त्रीकरणको लागि प्रक्रियाको आरम्भ नै नगरेको बताउने गरेको छ ।
उता उत्तर कोरियाले भने सिंगापुर सम्झौताको पक्षमा इमान्दारिताका साथ लागि परेको तर त्यस सम्झौताबमोजिम अमेरिका भने नाकाबन्दी हटाउने पक्षमा नदेखिएको जनाएको छ । रासस\एएफपपी