१४ हजार पदमा लोकसेवा खुलाउने सरकारको तयारी, समायोजनको फारम भर्न ‘हेल्प डेस्क’



काठमाण्डौ । सरकारी जागिरको लागि लोकसेवा आयोगको तयारीमा रहेकाहरुको लागि खुशीको खबर छ । कर्मचारी समायोजन अध्यादेश आएपछि लोकसेवा खुल्ने\नखुल्ने अन्यौलता भइरहेको थियो । तर, सरकारले कर्मचारी समायोजन लगत्तै कम्तीमा १४ हजार पदमा लोकसेवा खुलाउने गरी विशेष कार्ययोजना तयार पारेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विशेष कार्ययोजनामा फास्ट ट्रयाकमार्फत सबै सेवा समूहका १४ हजार पदमा विज्ञापन गर्ने गृहकार्य अघि बढाएको हो । सो विशेष कार्ययोजनाअन्तर्गत सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन लगत्तै तिनै तहमा पदअनुसार रिक्त दरबन्दीको प्रक्षेपण गर्नेछ ।

माघको दोस्रो सातासम्म समायोजनको सबै प्रक्रिया सक्ने तयारी गरेको सरकारले माघको अन्तिम सातासम्म ठूलो संख्यामा लोकसेवा खुलाउने गरी कार्ययोजना अन्तिम चरणमा पुर्याएको हो ।

सो कार्ययोजनाअनुसार प्रशासन, स्वास्थ्य, इन्जिनियरिङ, कृषि तथा वन, लेखापरीक्षणलगायत सबै सेवा समूहमा खरिदारदेखि सहसचिव स्तरसम्ममा नै लोकसेवा खुल्ने निश्चित भएको हो ।

सरकारले तीनै तहमा रिक्त दरबन्दीको प्रक्षेपण गर्दा तत्काल सबै सेवा समूहका कम्तीमा १४ हजार दरबन्दी रिक्त हुन सक्ने आँकलन भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले जानकारी दिए ।

कर्मचारी समायोजको अनलाइन फारम भर्न ‘हेल्प डेस्क’
यता, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनका लागि अनलाइन फारम भर्न सबै सरकारी कार्यालयमा ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याउने भएको छ ।

समायोजनमा जाने कर्मचारीलाई सहज र सुलभका लागि हेल्प डेस्क सञ्चालन गर्न थालिएको मन्त्रालयका समायोजन शाखाका प्रमुख केदार पनेरुले जानकारी दिए । समायोजनमा जाने सबै कर्मचारीले सोही डेस्कबाट नै फारम भर्नुपर्नेछ ।

उनका अनुसार मन्त्रालय, आयोग, सचिवालय, सातवटै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र सबै स्थानीय तहमा सो डेस्क सञ्चालन हुनेछन् ।

सबै सरकारी कार्यालयमा डेस्क सञ्चालन गर्नका लागि मन्त्रालयले पत्राचार गरिसकेको छ । उहाँले पुसको पहिलो हप्ताभित्रमा डेस्क सञ्चालन गरिने छ ।

समायोजनमा जाने कर्मचारीका लागि सबै स्थानीय तहमा बिहान ८ देखि साँझ ६ बजेसम्म डेस्क सञ्चालन हुनेछ । मन्त्रालयले पुस मसान्तभित्र कर्मचारी समायोजन गरिसक्ने गरी आवश्यक सबै तयारी सुरु गरेको छ ।

अनलाइन फारम भर्नका लागि मन्त्रालयले अहिले सफ्टवेयर बनाइरहेको छ । संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहमा सरकारले कर्मचारी समायोजन गर्न थालेको हो ।


क्लिकमान्डु