कौशादेवी भन्छिन्- मलाई पतिको काजकिरिया गर्नबाट किन रोकियो ?




काठमाण्डौ । श्रीमानको मृत्यु हुँदासमेत श्रीमानको घरमा काज किरियामा बस्न नदिई आफूमाथि अभद्र ब्यबहार गरेको भन्दै एक महिलाले न्यायको अपिल गरेकी छिन् ।

हाल काठमाडौँको गोकर्णेश्वर–३, नयाँवस्ती बस्ने कौशादेवी घिमिरे ढुङ्गेलले यही मंसिर १८ गते श्रीमान मुक्तिनाथ ढुङ्गेलको मृत्यु भएपछि घरमा आएर काजकिरिया गर्न खोज्दा आफुलाई घरभित्र पस्न नदिने र काजकिरिया गर्न नदिने भनी अभद्र ब्यबहार देखाएको बताएकी छिन् ।

उनले आफ्ना पतिको काजकिरिया गरिदिनु भनेर पटक– पटक माग गर्दा पनि आफ्ना जेठाजु उमा ढुङ्गेल, देवर उद्धव ढुङ्गेल र माधव ढुङ्गेलले घरमा आएर क्रियामा बस्न नदिने भनी ब्यबहार देखाएको भन्दै आफुलाई पतिको क्रिया गर्ने वातावरण मिलाई दिन अपिल गरेकी छिन् ।

हाल माईतीको शरणमा रहेकी उनले २०२५ सालमा ओखलढुङ्गाको तत्कालीन सुत्लुङ गाविस वडा नं–३ मा आफ्नो विवाह भएको र विवाहपछि ९ वर्षसम्म घरमा बसेपनि पति घरमा नआएपछि जलेश्वरमा भएको थाहा पाएर भेट्न गएको बताएकी छिन् ।

उनले पतिलाई भेट्न जाँदा आफुलाई बस्न नदिएपछि दुःख जिलोजीवन बिताउन बाध्य भएको र उजुरी गर्न खोज्दा श्रीमान् पक्षबाट सरकारी कर्मचारी विरुद्ध उजुरी गर्दा बहुबिवाहको कारबाहीमा पर्ने र सामाजिक प्रतिष्ठामा आँच आउने भनेर उजुरी गर्न नदिएको पनि बताएकी छिन् ।

सासु ससुरासँग भने आपनो पटक-पटक विराटनगरमा भेट हुने गरेको उनले बताएकी छिन् । उनले मंसिर १८ गते आफ्ना पतिको अचानक मृत्यु भएको तर पतिका घरका मान्छेले त्यसको जानकारी नगराएको र आफुले अर्कैबाट थाहा पाएको पनि गुनासो गरेकी छिन् ।

श्रीमानको मृत्यु भएको आज ९ दिन भएको छ । श्रीमान्को घरमा बसेर काजक्रिया गर्न नदिएपछि अहिले उनी पशुपति क्षेत्रमा बसेर एकल रुपमा आफ्नो कर्म गरिरहेकी छिन ।


क्लिकमान्डु