उपराष्ट्रपति पुन भन्छन्- समृद्धिको प्रमुख आधार खनिजको विकास र बजारीकरणमा जोड दिऊँ



काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुक समृद्धिको प्रमुख आधार खनिजको विकास र बजारीकरणमा लाग्नुपर्ने बताएका छन् ।

नेपाल भौगर्भिक समाजले आज आयोजना गरेको ‘नवौँ नेपाल अन्तर्राष्ट्रिय भौगर्भिक सम्मेलन’को उद्घाट्न समारोहमा उनले मुलकका बहुमूल्य खनिजको चाँडो उत्खनन गरी यसमा योजनाबद्ध विकास प्रयासको खाँचो औँल्याए ।

विकास पूर्वाधारका संरचना बनाउँदा भूबनोटमा पनि ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले भने, “प्राकृतिक विपद्बाट बच्न आवश्यक तयारीका साथै भूगर्भविद्को ज्ञान र अनुभव आवश्यक छ ।”

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले प्राकृतिक स्रोतसाधनको व्यवस्थापन र सदुपयोगमा लाग्नुपर्ने बताए । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जटिल भौगोलिक विविधताका कारण व्यवस्थित बसोबासमा देखिएका चुनौतीका बारेमा बताउँदै भूकम्पपछिको पुनःनिर्माणमा भएका प्रगतिका बारेमा जानकारी दिए ।

कार्यक्रममा समाजका अध्यक्ष डा कविराज पौड्याल, उपाध्यक्ष गणेश त्रिपाठी, सम्मेलनका संयोजक राजेन्द्रप्रसाद खनाललगायतले समाजका गतिविधिका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा भूगर्भ विकास क्षेत्रमा योगदान पु¥याएवापत भूवैज्ञानिकद्वय डा मेघराज धिमाल र नरेन्द्रबहादुर कायस्थलाई सम्मान गरिएको थियो ।

यही मङ्सिर ५ गतेसम्म चल्ने सम्मेलनमा १५ देशका करीब १५० भूगर्भविद्, भूवैज्ञानिक, खानी विशेषज्ञ, इञ्जिनीयरलगायत विज्ञको सहभागिता छ । विसं २०३७ मा स्थापितसमाजले भूविज्ञानसम्बन्धी राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरको सम्मेलन, कार्यशाला, गोष्ठी, तालीमलगायत कार्यक्रम गर्दै आएको छ ।


क्लिकमान्डु