मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते



बनियानी । झापाको भद्रपुर नगरपालिका–४ स्थित चारआली–केचना सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको र अन्य दुई गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा भद्रपुर–८ का २० वर्षीय किशोर प्रधान रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार भद्रपुर–४ स्थित झिलमिलीया पुल नजिक आज बिहान १ः३० बजे मे ४ प ७७९५ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।

तीन जना सवार रहेको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक प्रधानको भद्रपुरस्थित ओम साई पाथीभरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र गम्भीर घाइते भएका भद्रपुर–८ का २० वर्षीय प्रताप तामाङ र २६ वर्षीय आशिष राईको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ ।

बस दुर्घटनामा पच्चिस घाइते
यता, पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१४ अमरापुरीमा आज बिहान २ बजे बस दुर्घटना हुँदा २५ घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार दाङबाट काठमाडौँका लागि छुटेको ना ६ ख ३९७३ नम्बरको बस अनियन्त्रित भएर पल्टिँदा बसमा सवार २५ घाइतेमध्ये तीनको अवस्था चिन्ताजनक रहेको छ ।

दाङ घोराही उपमहानगरपालिका–१५ बस्ने २८ वर्षीय होमबहादुर पोखरेल, दाङ शान्तिनगर गाउँपालिका–१ बस्ने एक वर्षीय बालक यनुष विक र तुलसीपुर बस्ने २४ वर्षीया लक्ष्मी बस्नेतको अवस्था चिन्ताजनक रहेको उनले जानकारी दिए ।

घाइतेमध्ये १० जनाको अवस्था मध्यम र १२ को अवस्था सामान्य रहेको उनको भनाई थियोे । घाइते सबैको भरतपुरस्थित नयाँ मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।


क्लिकमान्डु