सार्क उवासंघको ७६ औं बैठकमा उपाध्यक्ष ढकालद्वारा विधान संशोधनका लागि दस्तावेज प्रस्तुत
काठमाण्डौ । सार्क उद्योग वाणिज्य संघको ७६ औं कार्यकारिणी समितिको बैठक भारतको चेन्नाईमा शुरू भएको छ । उक्त बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष तथा सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकालले भाग लिएका छन् ।
बैठकको अध्यक्षता संघका अध्यक्ष रूवान इडिरीसिंघेले गरेका छन् । उक्त बैठकमा सार्क उवासंघका उपाध्यक्ष एवं संघको विधान शंसोधन समितिका सभापति ढकालले संघको विधान संशोधनका लागि सुझाव सहित धारणापत्र बैठक समक्ष राख्ने छन् ।
संघको विधानलाई अझ बढी स्पष्ट र क्रियाशील बनाउने उद्देश्यले बंगलादेशको ढाकामा गत वर्ष सम्पन्न संघको ७५ औं कार्यकारिणी समिति बैठकले उनलाई विधान संशोधन समितिको सभापतिमा चयन गरेको थियो ।
विधान संशोधन समितिका सदस्यहरूमा संघका वर्तमान उपाध्यक्ष विनोद जुनेजा, संघका पूर्व अध्यक्ष एवं वर्तमान उपाध्यक्ष दासो उगेन थेक्चुप दोर्जी , पाकिस्तान उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं संघका वर्तमान कार्य समिति सदस्य जुवेर अहमद मल्लिक र बंगलादेश उद्योग वाणिज्य महासंघका पूर्व महासचिव तथा संघका कार्य समिति सदस्य सफकात हैदर रहेका छन् ।
बैठकमा संघका उपाध्यक्ष रोहिथा सिल्भा, उपाध्यक्ष विनोद जुनेजा, नेपाल हिना साइद, र संघका कार्यकारिणी समितिका सदस्यहरूको सहभागिता रहेको छ । नेपाल उद्योग वाणिज्य महासंघ सार्क उवासंघको संस्थापक सदस्य हो ।