कुकुरलाई खान दिएर कुकुर तिहार मनाइदै



काठमाण्डौ । नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई मीठामीठा खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदैछ ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।

कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेको संख्यासमेत बढ्न थालेको छ ।

यसैबीच, आज बिहानै अरुणोदय कालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधिसमेत रहेको गौतमले बताए । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ ।


क्लिकमान्डु