लोकसेवा आयोगले पदपूर्तिको कार्यतालिका सार्यो, यस्तो छ नयाँ कार्यतालिका



काठमाण्डौ । सरकारको विभिन्न निकायमा रिक्त पदको पदपूर्तिका लागि लोकसेवा आयोगले आर्थिक वर्ष २०७५\०७६ का लागि तय गरेको वार्षिक कार्यतालिका परिवर्तन गरेको छ ।

सरकारको आग्रहमा कार्यतालिका दुई महिना पर सार्ने गरी परिवर्तन गरेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।

“सरकारले कर्मचारी समायोजन गर्नुपर्ने भएकाले कार्यतालिका दुई महिना पर सार्न अनुरोध गर्यो” उनले भने, “सरकारको आग्रहलाई स्वीकार गर्दै पहिलेको कार्यतालिकामा दुई महिनापछि सारेर नयाँ कार्यतालिका निकालिएको छ ।”

सरकारले समायोजन गर्ने भनेपछि रिक्त पदको विवरणसमेत आयोगलाई पठाएको थिएन । आयोगले हरेक वर्ष साउन महिना पदपूर्तिका लागि कार्यतालिका निकाल्ने गर्दथ्यो ।

नयाँ कार्यतालिका अनुसार सहसचिव, उपसचिव, शाखा अधिकृत स्वास्थ्य सेवा सबै तहको रिक्त पदको पदपूर्तिका लागि एकै पटक मङ्सिर महिनाको अन्तिम बुधबार प्रकाशित गर्ने भएको छ ।

नयाँ कार्यतालिका अनुसार नायब सुब्बा र खरदार तहको पदपूर्तिको विज्ञापन भने पहिल्यैकै समयमा हुने उपसचिव सुवेदीले जानकारी दिए ।

पुरानो कार्यतालिका अनुसार असोज ३१ गतेबाट आयोगले सरकारी निकायका विभिन्न पदका लागि विज्ञापन गर्ने तयारी गरेको थियो । उपसचिव सुवेदीले नयाँ कार्यतालिका अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई रिक्त पदपूर्तिका लागि आवश्यक दरबन्दी विवरण समयमा उपलब्ध गराउनसमेत आज पत्र पठाइएको जानकारी दिए ।

उनले धेरै पदको एकै पटक विज्ञापन गर्दा परीक्षा सञ्चालनमा कठिनाइ आउन सक्ने पनि बताए ।

विज्ञापन एकै पटक गरेपनि परीक्षा भने क्रमशः गरिने छ । “परीक्षा सञ्चालनका लागि भवनको समेत अभाव हुन सक्छ”, उनले भने, “एकै पटक विज्ञापन गरेर पदपूर्ति गर्दा परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा ढिलाई हुन सक्छ ।”

आयोगले सामान्य प्रशासन, स्वास्थ्य सेवा, संसद् सेवा र न्याय सेवाका परीक्षा लिई सरकारलाई योग्य उम्मेदवार सिफारिश गर्ने गरेको छ ।

आयोगमा अहिलेसम्म न्याय सेवा, स्वास्थ्य, व्यवस्थापिका संसद्तर्फका मात्र सो सेवामा रिक्त पदपूर्तिको लागि विवरण उपलब्ध गराएको छ । उपसचिव सुवेदीका अनुसार वर्षेनी करीब आठ हजार कर्मचारीको पदपूर्तिका लागि आयोगले परीक्षा लिने गर्दछ ।

 

 


क्लिकमान्डु