मौद्रिक नीतिको प्रभावः सिम्रिक एयर र अटोवेज प्रालिले गराए ऋणको रेटिङ




काठमाडौं । चालु आर्थिक बर्षको मौद्रिक नीतिले गरेको ब्यवस्था अनुसार ऋण लिन चाहने कम्पनीहरुले ऋणको रेटिङ गराउन थालेका छन् ।

निजी क्षेत्रबाट संचालित एयर लाइसन्स सिम्रिक एयर र निजी तथा सार्बजनिक सवारी साधन विक्री गर्ने कम्पनी अटोवेज प्रालिले आफूले लिने ऋणको रेटिङ गराएका हुन् । यी दुबै कम्पनीले इक्रा नेपालबाट ऋण रेटिङ गराएका हुन् ।

चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत ५० करोड रुपैयाँभन्दा बढीको ऋण लिन चाहने कम्पनी वा संस्थाले आफ्नो ऋणको रेटिङ गराउनु पर्ने ब्यवस्था छ । सोही ब्यवस्था अनुसार पहिलो चरणमा यी दुई कम्पनीले ऋणको रेटिङ गराएका हुन् ।

सिम्रिक एयरले अहिले पनि ५८ करोड ६९ लाख रुपैयाँ ऋण लिइरहेको छ । यसमध्ये ४६ करोड ५२ लाख रुपैयाँ फण्डबेस्ड दीर्घकालिन ऋण छ । यस्तो ऋणलाई इक्रा नेपालले एलबीबी रेटिङ दिएको छ ।

इक्रा नेपालले ऋणलाई ८ बर्गमा रेट गर्छ । यसमध्ये एलबीबी राम्रोको पाचौं नम्बरमा पर्छ ।

सिम्रिक एयरले अहिले पनि ६ करोड १६ लाख रुपैयाँ फण्डबेस्ड अल्पकालिन र ६ करोड रुपैयाँ ननफण्डबेस्ड अल्पकालिन ऋण लिएको छ । यी दुबै ऋणले एफोर रेटिङ पाएका छन् ।

अल्पकालिन ऋणलाई इक्रा नेपालले पाँच बर्गमा राख्ने गरेको छ । यसमध्ये एफोर रेट भनेको राम्रोबाट चौंथो स्थानमा पर्छ ।

सिम्रिक एयरले अब ६३ लाख अमेरिकी डलर ऋण लिन चाहेको छ । उसले लिन चाहेको ऋणले पनि एफोर नै रेटिङ पाएको छ ।

अटोवेज प्रालिले १ अर्ब ३८ करोड १० लाख रुपैयाँ ऋण लिन चाहेको छ । यसमध्ये अटोवेजले २२ करोड ९० लाख रुपैयाँ दीर्घकालिन ऋण लिन चाहेको हो । यस्तो ऋण लिनको लागि उसले एलबीबी रेटिङ नै पाएको छ ।

बाँकी रकम उसले फण्डबेस्ड र ननफण्डबेस्ड अल्पकालिन ऋण लिन चाहेको हो । अटोवेजले लिन चाहेको अल्पकालिन ऋणले एफोरप्लस रेटिङ पाएको छ ।

कुनै पनि रेटमा प्लस थपिनुले त्यस्तो ऋण सोभन्दा राम्रो माथिल्लो वर्गको ऋणभन्दा केही कम मात्रै हो भन्ने देखाउने इक्रा नेपालका एसिस्टेन्ट भाइस प्रेसिडेन्ट किशोर प्रसाद विमलीले जानकारी दिए ।


क्लिकमान्डु