कति बढ्यो तपाइको तलब ? सरकारीमा राम्रै, निजीमा शुन्य, बैंकिङमा सामान्य




काठमाडौं । सरकारले चालु आर्थिक बर्षको बजेट मार्फत तलब बढाएन भनेर सरकारी कर्मचारी अझै गुनासो गरिरहेका छन् । सरकारले नै कर्मचारीको तलब नबढाएपछि निजी क्षेत्रमा काम गर्ने कर्मचारीको तलब बढ्ने सम्भावना निकै कम हुने अनुमान गरिन्छ ।

तर, नेपाल राष्ट्र बैंकले सार्बजनिक गरेको तथ्यांकले भने सरकारी क्षेत्रमा काम गर्ने कर्मचारीको तलब गत बर्षको भन्दा बढेको देखाएको छ । यसमध्ये पनि अफिसर तहमा काम गर्ने कर्मचारीको तलब सहायक तहमा काम गर्ने कर्मचारीको भन्दा धेरै बढेको तथ्यांकले देखाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार सरकारी र निजी दुबै क्षेत्रमा गरी कर्मचारीहरुको तलब ६.६ प्रतिशतले बढेको छ । यस्तो बृद्धि अघिल्लो साउनको तुलनामा गत साउन महिनाको हो ।

सरकारी र निजी दुबै क्षेत्रमा काम गर्ने अफिसर तहका कर्मचारीको तलब अघिल्लो साउनको तुलनामा गत साउनमा ८ प्रतिशतले बढेको छ । अघिल्लो साउनमा पनि ८ प्रतिशतले नै बढेको थियो ।

यस्तै सहायक तहका कर्मचारीको तलब भने ५.९ प्रतिशतले बढेको छ । अघिल्लो साउनमा पनि सो तहका कर्मचारीको तलब ५.९ प्रतिशतले नै बढेको थियो ।

सरकारी कर्मचारीको तलब बृद्धि सरकारी र निजी क्षेत्रको औसतभन्दा बढी छ । सरकारी सेवामा कार्यरत कर्मचारीको तलब ७.४ प्रतिशतले बढेको छ । यसमध्ये अधिकृत तहको तलब २.३ प्रतिशतले र सहायक तहको तलब ७.९ प्रतिशतले बढेको छ ।

निजी क्षेत्रमा काम गर्ने कर्मचारीको तलब बढेको छैन । बैंकिङ क्षेत्रमा काम गर्ने कर्मचारीको तलब भने नगन्य मात्रामा बढेको तथ्यांकले देखाएको छ । यो क्षेत्रमा काम गर्ने कर्मचारीको तलब १.१ प्रतिशतले मात्रै बढेको हो ।

सार्बजनिक संस्थानहरुमा कार्यरत कर्मचारीहरुको तलब ५.८ प्रतिशतले बढेको छ । यसमध्ये अधिकृत तहको ४.५ प्रतिशत र सहायक तहका कर्मचारीको ६ प्रतिशतले बढेको छ ।

बैंकिङ क्षेत्रमा काम गर्ने कर्मचारीको तलब भने नगन्य मात्रामा बढेको तथ्यांकले देखाएको छ । यो क्षेत्रमा काम गर्ने कर्मचारीको तलब १.१ प्रतिशतले मात्रै बढेको हो । यसमध्ये अधिकृत तहका कर्मचारीको तलब १.७ प्रतिशत र सहायक तहका कर्मचारीको तलब १.१ प्रतिशतले मात्रै बढेको हो ।

आर्मी र पुलिसको तलब भने ८.१ प्रतिशतले बढेको छ । यसमध्ये अधिकृत तहको तलब ४.५ प्रतिशत र सहायक तहका कर्मचारीको तलब ८.२ प्रतिशतले बढेको छ ।

शिक्षा क्षेत्रमा यो बर्ष गज्जबले तलब बढेको तथ्यांकले देखाएको छ । यो क्षेत्रका कर्मचारीको तलब १०.३ प्रतिशतले बढेको हो । यसमध्ये अधिकृत तहका कर्मचारीको तलब १०.८ प्रतिशत र सहायक तहका कर्मचारीको तलब ९.५ प्रतिशतले बढेको छ ।

निजी क्षेत्रमा काम गर्ने कर्मचारीको तलब बढेको छैन ।

असंगठित क्षेत्रमा काम गर्ने मजदुरको ज्याला भने सामान्य मात्रै बढेको छ । गत बर्षको साउनको तुलनामा यो बर्षको साउनमा मजदुरको ज्याला १.५ प्रतिशतले मात्रै बढेको छ ।

कृषि क्षेत्रका मजदुरको ज्याला २ प्रतिशतले बढेको छ । यसमध्ये पुरुष मजदुरको ज्याला २.१ प्रतिशतले र महिला मजदुरको ज्याला १.९ प्रतिशतले बढेको छ ।

औद्योगिक क्षेत्रमा काम गर्ने मजदुरको ज्याला ०.५ प्रतिशतले मात्रै बढेको छ । यसमध्ये उच्च दक्ष मजदुरको ज्याला ०.८ प्रतिशतले, दक्ष मजदुरको ज्याला ०.५ प्रतिशतले, अर्धदक्ष मजदुरको ज्याला १ प्रतिशतले र अदक्ष मजदुरको ज्याला बढेको छैन ।

निर्माण क्षेत्रका मजदुरको ज्याला १.२ प्रतिशतले बढेको छ । दक्ष कार्पेन्टरको ज्याला २.६ प्रतिशतले बढेपनि अदक्ष कार्पेन्टरको ज्याला बढेको छैन ।

ज्यामीको ज्याला भने २.२ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । यसमध्ये महिला ज्यामीको ज्याला १.५ प्रतिशतले र पुरुष ज्यामीको ज्याला २.९ प्रतिशतले बढेको छ ।


क्लिकमान्डु