मुख्यमन्त्री पौडेल भन्छन्– अबका केही वर्ष औद्योगिक वर्षको अभियान चलाउँछौ




काठमाण्डौ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल अहिले संघीयताको अभ्यासमा रहेको बताउँदै हरेक क्षेत्र मिलेर अगाडि बढे मात्र विकास र आर्थिक समृद्धि हुने बताएका छन् ।

प्रदेश सरकार नीति तथा योजना आयोग र नेपाल उद्योग परिसंघको आयोजनामा आज काठमाण्डौमा सम्पन्न प्रदेश नं. ३ को समृद्धिको मार्गचित्र विषयक अन्तरकृया कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

प्रदेश सरकारले नीति तथा कार्यक्रममा सुखी नेपाली समृद्ध नेपालको परिकल्पना गरेको बताउँदै आर्थिक क्रान्तिको चरणमा रहेको मुख्य मन्त्री पौडेलले बताए ।

उनले भने–‘प्रदेश सरकारले उच्च दरको आर्थिक वृद्धि हासिल गर्ने, सन्तुलित र सुदृढ अर्थतन्त्र निर्माण गर्ने, विकासलाई समावेशी र सामाजिक न्यायमा आधारित वनाउने र सुशासन कायम गर्ने प्रमुख उद्देश्य लिएको छ ।’

मुख्यमन्त्री पौडेलले परिकल्पना र उद्देश्य पूरा गर्न सरकारको एकल प्रयासले मात्र सम्भव नहुने बताए । संविधानले नै सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागितबाट नै मुलुकको अर्थतन्त्र सुदृढ हुने नीति लिए अनुसार निजी क्षेत्रलाई उच्च प्राथामिकता दिएकोपनि उनको भनाई थियो ।

प्रदेश सरकारको काम देखिन अब केहि समय लाग्ने उनले बताए । उनले भने–अहिले हामी जहाजमा उडिरहका छौं, उडेको समयमा जहाजको गति थाहा हुँदैन, जहाज गन्तब्यमा पुगेपछि मात्र जहाज उडेको दुरी थाहा हुन्छ, त्यस्तै प्रदेश सरकार अहिले उडिरहेको छ ।’

उद्योग क्षेत्रलाई प्रवद्र्धन गर्न ठोस कार्ययोजना भए संरचनाहरु तयार गर्न सरकार तत्पर रहेको छ–उनले भने । निजी क्षेत्रको लगानी प्रवद्र्धधन मार्फत् उच्च आर्थिक बृद्धि र रोजगारीको अवसर सिर्जना गर्न प्रदेश सरकार र निजी क्षेत्रको सहकार्यलाई संस्थागत गर्नुपर्नेमा उनले जोड दिएका थिजए ।

स्थानीय स्रोत तथा सीपमा आधारित एक पालिका, एक विषेश उत्पादन, एक टोल एक उद्यम तथा व्यवसाय प्रबद्र्धन कार्यक्रम सञ्चालन गर्ने प्रकृयामा प्रदेश सरकार अगाडि बढिरहेको उनको भनाई थियो ।

सार्वजानिक निजी साझेदारी र सार्वजानिक सहकारी साझेदारी सम्बन्धी प्रदेशस्तरको नीति तत्काल जारी गरी स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई लगानीमैत्री वाताबरण सिर्जना गरी आर्थिक रुपान्तरण गर्नु प्रदेश सरकारको चाहना रहेको छ–उनले भने ।

अबका केही वर्ष औद्योगिक वर्ष
यसैगरी मुख्यन्त्री पौडेले अवका केहि बर्षलाई प्रदेश सरकार औद्योगिक बर्षका रुपमा सञ्चालन गर्न चाहेको बताउँदै यसका लागि प्रदेश सरकार लगानीकर्ताहरुलाई सहजरुपमा एकद्वार प्रणालीद्वारा सम्पूर्ण आवश्यक प्रकृया सञ्चालन गर्ने गरी अगाडि बढेको बताए ।

यस्तै जलविद्युत उत्पादनमा जनताको लगानी आकर्षण गर्न प्रदेश विद्युत लगानी बोर्डको स्थापना गरिनेपनि उनले जानकारी दिए । निजी क्षेत्रसंगको सहकार्यमा सुरुङ मार्ग लगायत अन्य ठूला ठूला परियोजना निर्माण गरिने मुख्यमन्त्री पौडेलले बताए ।

कार्यक्रममा बोल्दै ३ नम्बर प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले स्रोत र साधन प्रयोग गरी सुखी नेपाली र समृद्ध नेपालको परिकल्पनामा अगाडि बढ्ने बताए । उद्योगको विकास र विस्तारमा देखिएको समस्यालाई कानुनी तवरबाट सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको उनले बताए ।

यस्तै ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले समृद्ध मुलुक निर्माणमा निजी क्षेत्रको सहयोग अपरिहार्य भएको बताए । संघीयता प्राप्तिका लागि निजी क्षेत्रको पनि योगदान रहेको भन्दै मन्त्री ढुंगेलले यो क्षेत्रलाई संगै लिएर जान प्रदेश सरकार तत्पर रहेको बताए ।

कार्यक्रममा ३ नम्बर प्रदेशका निति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देबकोटा र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.शंकरप्रसाद शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माको अध्यक्षतामा भएको कार्यक्रममा ३ नम्बर प्रदेशका सांसद तथा व्यवसायीहरुको सहभागिता रहेको थियो ।


क्लिकमान्डु