वर्षको अन्त्यमा शोधानान्तर बचतमा,चालु खाता अहिलेसम्मकै उच्च घाटामा



काठमाडौं । आर्थिक वर्ष २०७४/ ७५ को अन्त्यमा शोधानान्तर बचत नाफामा आएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार देशबाट बाहिरिनेभन्दा भित्रने रकमको अन्तर असार मसान्तमा आएपछि ९६ करोड रुपैयाँले बचतमा आएको हो ।

एकवर्षको अवधीमा शोधानान्तर बचत भने निकै नै घटेको छ । आर्थिक वर्ष २०७३/७४ मा ८२ अर्ब रुपैयाँले बचतमा रहेको शोधानान्तर गतवर्ष ९६ करोडले मात्र बचतमा आएको हो ।

शोधानान्तर वर्षको अन्त्यमा बचतमा आएपनि चालु खाता भने २ खर्ब ४५ अर्ब रुपैयाँले घाटामा पुगेको छ । अघिल्लो वर्ष १० अर्ब रुपैयाँले चालु खाता घाटामा थियो ।

चालु खाता घाटा हुनुको पछाडि उच्च व्यापार घाटा नै प्रमुख कारण हो । गत आर्थिक वर्षमा नेपालले १२ खर्ब ४२ अर्ब रुपैयाँको आयात भएको छ । यस्तै ८१ अर्ब १९ करोड रुपैयाँको निर्यात भएको छ ।

गत आर्थिक वर्षमा ७ खर्ब ५५ अर्ब रुपैयाँ रेमिटेन्स मार्फत नेपाल भित्रिएको छ ।


क्लिकमान्डु