वित्तीय क्षेत्र सुधारको लागि विश्व बैंकको ११ अर्ब सहयोग



वासिंटन डिसी । विश्व बैंकले नेपालको वित्तीय क्षेत्र सुधारको लागि करिब ११ अर्ब (१०० मिलियन डलर) बराबरको ऋण सहयोग स्वीकृत गरेको छ । नेपाल र विश्व बैंकको नेपाल कार्यालयको सहभागितामा तयार पारिएको विकास साझेदारीको खाकामाथीको छलफलपछि मंगलबार विश्व बैंकले सहयोगको घोषणा गरेको हो ।

विश्व बैंकको बोर्डले चौथो वित्तिय क्षेत्र सुधार कार्याक्रम अन्तरगत उत्त ऋण सहयोग स्वीकृत गरेको जनाएको छ । उत्त सहयोग यस अगाडि विश्व बैंकले सन् २०१३ मा सुरु गरेको वित्तीय क्षेत्र सुरधारको निरन्तरता रहेको र यसलाई अन्तिम रुप दिनको लागि यो रकम प्रयोग गरिने जनाईएको छ ।

यसअघि मंगलबार नै अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालले सन् २०२२ सम्ममा अतिकम विकसित राष्टवाट स्तरोन्नती गर्ने लक्ष्य राखेको भन्दै सहयोग बढाउन नेपालको प्रमुख दातृ निकाय विश्व बैंकका निर्देशकहरुलाई आग्रह गरेका थिए ।

अमेरिकको राजधानी वासिंटन डिसीमा रहेको विश्व बैंकको मुख्यालयमा भएको नेपालको विकास साझेदारी खाका सम्बन्धि विश्व बंैकका कार्यकारी निर्देशकहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै खतिवडाले आगमी ५ वर्षको लागि नेपालले तयार पारेको लगानीको ढाँचा समेत प्रस्तुत गरेका थिए ।

खतिवडाले नेपालको पूर्वाधार तथा अरु विभिन्न क्षेत्रमा थप सहयोगको आवश्यकता रहेको भन्दै नेपाल दिगो विकास लक्ष्य प्राप्त गर्न प्रतिबद्ध रहेको विश्वस्त गराएका थिए । सोही बैठकमा खतिवडाले सन् २०३० सम्म नेपाल मध्यम स्तर आय भएको मुलुकमा स्तरोन्नति हुने जानकारी गराएका थिए ।

बैठकमा सहभागि अमेरिकाको लागि नेपाली राजदुत डा. अर्जुनकुमार कार्कीले बैठकमा खतिवडाले नेपाल सरकारको आगामी योजनाको विषयमा विश्व बैंकलाई जानकारी दिएको बताए ।

‘बैठकमा कार्यकारी निर्देशकहरूले स्थानीय निकायको क्षमता, नेपालको विकासको स्पष्ट मार्गचित्र, प्राथमिकता, सुधारको निरन्तरताको विषयमा नेपालको धारणा मागेका थिए सोही अनुसार छलफल भयो,’ उनले भने ।

बैठकमा सरकारको तर्फबाट राजश्वको स्रोत निर्धार तथा दिगोपना र व्यावसायिक वातावरणलगायतको सम्बन्धको विषयमा डा खतिवडाले स्पष्ट पारेका थिए । बैंठकमा विश्व बैंकको नेपाल कार्यालयकै साझेदारीमा सरकारले तयार पारेको ५ वर्षीय देशीय साझेदारी ढाँचा प्रस्तुत गरिएको थियो । जसमा विश्व बैंकले अहिले गरिरहेको सहयोगमा करिब १५ प्रतिशतसम्म बृद्धि गर्न सक्ने योजना प्रस्तुत गरिएको छ ।

उक्त ढाँचामाथि विस्तृत छलफलपछि विश्व बैंकले आफ्नो आधिकारिक निर्णय नेपाल सरकारलाई दिने जनाईएको छ । नेपालमा राजनीतिक सुधार र दिगो सरकार बनेको आधारमा विश्व बैंक नेपालप्रति सकारात्मक रहेको जनाईएको छ । विश्व बैंक र योही अन्तरगतको अन्तराष्ट्रिय मुद्रा कोष नेपालले नेपालको विकासमा साझेदारी गर्दै आएका छन् ।

विश्व बैंकको सहयोगमा अहिले पनि नेपालमा २१ आयोजना सञ्चालन भईरहेको छ । उक्त आयोजनाहरुमा करिब २ खर्ब ७५ अर्ब बराबरको लगानी रहने बताईएको छ । सन् १९६३ देखि विश्व बैंकले नेपालमा सहयोग सुरु गरेको थियो । हालसम्म विश्व बैंकले करिब ५ खर्ब सहयोग गरिसकेको जनाईएको छ । जसमा ३ खर्ब ५० अर्ब बराबरको ऋण र १ खर्ब ३० खर्ब बराबरको सहयोग र बाँकी प्राविधिक सहयोग रहेको बताईएको छ ।


पुष्प दुलाल