पेट्रोलियम पदार्थ आयात बढ्दै, गत आर्थिक वर्ष ४ लाख किलोलिटर बढी आयात



काठमाडौं । नेपालमा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ४ लाख किलोलिटर बढी पेट्रोलियम पदार्थ आयात भएको छ ।

भारतबाट गत आर्थिक वर्ष २६ लाख ६७ हजार ६ सय ६१ किलो लिटर पेट्रोलियम पदार्थ आयात भएको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।
यसअघि आब २०७३\७४ मा २२ लाख २४ हजार ५ सय ५० किलो लिटर पेट्रोलियम पदार्थ आयात गरिएको थियो ।

गत आर्थिक वर्षमा नेपालमा १ खर्ब ६५ अर्ब ८५ करोड ३६ लाख १५ हजार ८ सय ५२ रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको नेपाल आयल निगमले जनाएको छ ।
नेपाल आयल निगमको घाटा बिस्तारै घट्दै गएको गोइतले बताए । उनका अनुसार आयल निगमले यो आर्थिक वर्षको साउन महिनाको १५ दिनमा १५ करोड रुपैयाँ मात्र घाटा बेहोरेको छ । गत महिनासम्म निगमले २६ करोड घाटा बेहोरेको थियो ।

‘पेट्रोल, मटितेल र हवाई इन्धनको नाफा मिलाउँदा अझैपनि पाक्षिक रुपमा निगमको घाटा १५ करोड ५ लाख रुपैयाँ देखिएको छ,’ प्रवक्ता गोइतले भने ।
बिक्री मूल्य र नयाँ खरिद मूल्य बमोजिम पेट्रोलमा प्रतिलिटर ०.८५ रुपैयाँ नाफा रहेको विभागले जानकारी दिएको छ । डिजेलमा प्रतिलिटर १.१६ रुपैयाँ घाटा रहेको छ ।

यस्तै एल.पी. ग्याँसमा खरिद लागत प्रतिसिलिण्डर झण्डै ४६.४६ रुपैयाँ बढेर आएकोले प्रतिसिलिण्डर २ सय ८०.६४ रुपैयाँ घाटा बेहोरिरहेको निगमले जानकारी दिएको छ ।

यस्तैगरी, हाल नेपालको बीरगञ्ज र भारतको रक्सौल सीमा क्षेत्रमा पेट्रोल प्रतिलिटर २३.२२ रुपैयाँ र डिजेल प्रतिलिटर २५.३९ रुपैयाँले अझै नेपालतर्फ सस्तो रहेको हुँदा आपूर्ति व्यवस्थाका चुनौतीहरु अझै उस्तै रहेको प्रवक्ता गोइतले बताए ।

स्वचालित मूल्य संरचना वमोजिम निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रत्येक १५\१५ दिनमा घटबढ वा यथावत रहने गरी कार्य गरिरहेको निगमले जानकारी दिएको छ ।

नेपालमा अम्लेखगञ्च, भैरहवा, विराटनगर, बीरगञ्ज, चारआली, धनगढी, जनकपुर, नेपालगञ्च, पोखरा र सुर्खेत नाकाबाट पेट्रोलियम पदार्थ भित्रिने गरेको छ ।


क्लिकमान्डु