सत्तारुढ दल नेकपाका नेता पाण्डे भन्छन्– सरकार डा. केसीसँग वार्ता गर्न तयार छ



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्वमन्त्री सोमप्रसाद पाण्डेले सरकार अनशनरत डाक्टर गोविन्द केसीसँग वार्ता गर्न तयार रहेको बताएका छन् ।

उनले भने,‘डाक्टर केसीसँग वार्ता गर्न हामी तयार छौं, उहाँलाई काठमाडौं ल्याएर वार्ता गर्छौं, सबैको सल्लाह अनुसार उहाँलाई काठमाडौं ल्याउनको लागि सरकार तयारी अवस्थामा छ, हेलिकप्टरसमेत स्ट्याण्डमा छ, मुलुकको आवश्यकत्ता अनुसार हामी परामर्श र छलफल गर्न तयार छौं।’

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पाण्डेले अनशनरत डाक्टर केसीका जायज मागहरु सरकारले सम्बोधन गर्ने तर नाजायज कुराहरु भने परिमार्जन गर्ने आफूहरुको योजना रहेको सुनाए । उनले भने,‘डाक्टर केसीलाई अनशन तोडेर वार्तामा आउन सरकारले आह्वान गरिसकेको छ, उहासँग वार्ता गर्न सरकार एकदम तयारी अवस्थामा छ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीन विश्वकर्माले अनशनरत डाक्टर केसीसँग सरकारले सबैभन्दा पहिले वार्ता सुरु गर्नुपर्ने बताए । उनले भने,‘सरकारले अहिले हठ देखायो, अहिले सरकारसँग दुई तिहाई बहुमत छ, तर पञ्चायत र राजा ज्ञानेन्द्रसँग त शतप्रतिशत थियो, त्यसैले कसैले हठ नपाल्दा राम्रो हुन्छ।’

सरकारले अध्यादेश जस्ताको तेस्तै ल्यायो भने आफूहरुको समर्थन रहने तर तोडमोड गरेर ल्यायो भने समर्थन नरहने नेता विश्वकर्माले स्पष्ट पारे । उनले डाक्टर केसीको सत्याग्रहमा कांग्रेसको नैतिक समर्थन रहेको पनि सुनाए । उनले भने,‘सरकारले जस्ताको तेस्तै पूरानो विद्येयक ल्यायो भने हाम्रो पार्टीले समर्थन गर्छ, यदि तोडमोड गरेर ल्याए संसदमा हाम्रो जे भूमिका हुन्छ त्यो निर्वाह गर्छौं।’

राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले अनशनरत डाक्टर गोविन्द केसीसँग सरकारले जुम्लामा नै वार्ता गर्नुपर्ने सुझाव दिएका छन् । उनले भने,‘डाक्टर केसी जुम्लामा अनशनमा हुनुहुन्छ, सरकारले जुम्लामा वार्ता गर्दा के बिग्रिन्छ, के जुम्ला पाकिस्तानमा पर्छ कि चीनमा ? जुम्लामा पनि यही देशमा पर्छ नि, सरकार त्यहाँ गएर वार्ता गर्नुपर्छ।’

उनले विगतमा आफूहरुले सरकारसँग काठमाडौंमा आएर वार्ता गर्दा दुःख पाएको सुनाउँदै भने,‘हामीले काठमाडौंमा वार्ता गर्दा धोका भयो, म डाक्टरहरुलाई जुम्लामै वार्ता गर्न सुझाव दिन्छु, डाक्टर केसी मर्यादित व्यक्तित्व हुनुहुन्छ, उहाँले उठाएका मागहरु जायज वा नाजायज के हो भनेर म अहिले भन्दिन् तर केसी उच्च मनोवल लिएर अनशनमा हुनुहुन्छ, उहाँको जीवन रक्षाको लागि म यहीँबाट अपिल समेत गर्छु।’

नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले अनशनरत डाक्टर गोविन्द केसीसँग सरकारले वार्ता गर्न तत्काल गम्भिर पहल गर्नुपर्ने धारणा राखे । उनले भने,‘हामीले सरकारलाई दबाब दिन हिजोबाट जागरण अभियानसमेत सुरु गरेका छौं, हिजोबाट १ घण्टा आकस्मिकबाहेक स्वास्थ्य सेवा बन्द गरेर जागरण अभियान सुरु गरेका छौं, यो बीचमा हामीले विभिन्न दलका नेताहरुसँग भेटघाट गरिरहेका छौं।’


क्लिकमान्डु