सरकारले कृषकलाई दिने अनुदान रकम अनियमितताको छानबिन समिति बनायो




काठमाडौं । कृषकलाई दिइने अनुदान रकममा भएको अनियमितताको छानबिन गर्न कृषि मन्त्रालयले समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव एवम् नीति तथा अन्तर्राष्ट्रिय सहयोग समन्वय महाशाखा प्रमुख तेजबहादुर सुवेदीको संयोजकमा छानबिन समिति गठन गरिएको हो ।

समितिलाई एक महिनाभित्रमा प्रतिबेदन बुझाउन समय सीमा दिइएको छ । समितिलाई एक महिनाको समय दिइएकोले समय सीमा भित्र नै अध्ययन प्रतिबेदन बुझाइने सहसचिब सुवेदीले जानकारी दिए ।

सो समितिलाइं प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सहितका मन्त्रालयले अनुदान दिएर संचालन गरेका परियोजनामा अनियमितता भए नभएको अध्ययन गर्नेछ ।

‘हामीलाई १ महिना समय तोकिएको छ, तर १ महिनामा सबै तिर छानबिन गर्न सम्भव नभए पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको छानबिन सक्नेछाैं, अन्य परियोजनाको पनि हामीले जेजति अध्ययन गरिसक्छौं, त्यसको प्रतिबेदन बुझाउने हो,’ सहसचिब सुवेदीले क्लिकमाण्डूसँग भने ।

सुरुवाती अवस्थामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यविधि लगायत हालसम्म मन्त्रालय अन्तर्गत रहेका कार्यविधि कार्यन्वयनको अवस्था, यसको प्रभावकारिता र सुधारका विषयमा अध्ययन तथा छानबिन गरिने छ ।

त्यसपछि विगत ५ वर्षदेखि मन्त्रालय अन्तर्गतका विभिन्न परियोजनाबाट उपलब्ध गराइएका अनुदान रकम विवरण, अनुदान रकम वितरणका क्षेत्र, अनुदान लिएका व्यक्ति, संस्था लगायतसँग अनुदानको प्रभावकारिता समीक्षा र सुधारका विषयमा सुझाव दिइने सुवेदीले बताए ।

मन्त्रालयले वितरण गर्ने अनुदान रकम वास्तविक किसान सामु पुग्न नसकेको, व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) लगायत विभिन्न आयोजनाबाट अनुदान रकममा ठूलो दुरुपयोग भएको र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी ढंगले सञ्चालन हुन नसकेको भन्दै समिति गठन गरी छानबिन अघि बढाउन थालिएको हो ।

कृषि मन्त्रालयले ५८ बुँदे कार्ययोजनाको बुँदा नम्बर २ लाई टेकेर समिति गठन गरी अनुगमन अघि बढाउन आँटेको हो ।

बुँदा नम्बर २ मा ‘संघीय सरकारबाट सञ्चालन भइरहेका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लगायत कृषि, पशुपन्छी क्षेत्रबाट सञ्चालिन अन्य परियोजना तथा कार्यक्रमका दस्तावेजहरुको पुनः परिभाषित गरी परिमार्जन गरिने’ उल्लेख गरिएको छ ।

समितिमा गंगादत्त आचार्य, नेत्र भण्डारी, लालकुमार श्रेष्ठ, विनोद भट्टराई, तिलक चौलागाईँ, नारायण काफ्ले, होमबहादुर विक, इन्द्रहरी पौडेल, सुजन ढुंगेल र अरुण जिसी सदस्य रहेका छन् ।


क्लिकमान्डु