नयाँ हवाई प्रवेश विन्दुको वार्ता आजदेखि सुरु




काठमाडौं । नयाँ हवाई प्रवेश विन्दुको विषयमा नेपाल र भारत बीच आजबाट काठमाडौंमा वार्ता सुरु हुँदै छ । वार्तामा नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोली र भारतीय नागरिक उड्यनको प्राविधिकणको प्राविधिक टोली सहभागी हुने छ ।

वार्ताको क्रममा प्राविधिक टोलीले नेपालका लागि अहिलेका अवस्थामा आवश्यक तीन वटा नयाँ रुटको विषयलाई प्रमुख एजेन्डा बनाएको छ । प्राधिकरणका अनुसार नेपालगञ्ज प्रवेश विन्दु, महेन्द्रनगर प्रवेश विन्दुलाई दुईतर्फी बनाउने र जनकपुर प्रवेश विन्दुको विषयमा भारतीय पक्षसँग छलफल हुनेछ ।

जनकपुर र महेन्द्रनगर प्रवेश विन्दु दिने विषयमा भारत सकारात्मक भएपनि नेपालगञ्ज प्रवृेश विन्दुको विषयमा भने सेफ्टी एसिसमेन्ट गनुपर्छं भन्दै आएको छ ।

तर, नेपालका लागि पश्चिम तर्फबाट आउने जहाजका लागि मेहन्द्रनगर र नेपालगञ्ज प्रवेश विन्दु उचित हो । अहिले उत्तर तिरबाट आउने जहाज बाहके सकै जहाज सिमरा विन्दुबाट मात्रै नेपाल प्रवेश गर्न पाउन अवस्था छ ।

नयाँ हवाई प्रवेश विन्दुको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले २०१६ डिसेम्बरदेखि छलफल सुरु गरेको थियो । नयाँ हवाई विन्दु नपाउँदासम्म नेपालले पूर्व र पश्चिमबाट आएका सबै जहाज सिमराबाट प्रवेश गरी काठमाडौं, पोखरा, भैरहवा र निजगढ विमानस्थलमा अवतरण गराउनुपर्ने बाध्यता छ ।

भारतीय पक्षसँग पूर्वका देशबाट आउने जहाज प्रवेशका लागि जनकपुर र विराटनगर विन्दु माग गरे पनि भारतीय पक्षले अहिलेसम्म स्वीकृति दिएको छैन । यसैगरी पश्चिमतर्फका देशबाट आउने जहाजका लागि नेपालले भारतीय पक्षसँग नेपालगन्ज प्रवेश विन्दु माग गरेको छ ।

भारतीय पक्षले नेपालगन्ज प्रवेश विन्दु दिन त्यस क्षेत्रमा आर्मी वेस क्याम रहेको भन्दै आलटाल गरिरहेको छ। तर, भैरहवा प्रवेश विन्दुका विषयमा भने भारतीय पक्ष सकारात्मक रहेको छ ।

नेपालका लागि सबैभन्दा उपयुक्त नेपालगन्ज प्रवेश विन्दु हो । सिमरा विन्दुको तुलनामा नेपालगन्ज प्रवेश विन्दुबाट काठमाडौं आउन १४ नटिकल माइल, भैरहवा आउन एक सय ६९ नटिकल माइल र पोखरा आउन एक सय ६५ नटिकल माइल दूरी कम पर्छ ।

नेपालबाट पश्चिम तर्फका देश र दिल्ली जाने जहाजका लागि भने दुई वटा रुट छन् । एउटा काठमाडौंबाट उडेर भैरहवा हुँदै निस्कने र अर्को काठमाडौंबाट महेन्द्र नगर हुँदै बाहिर निस्कने आउट विन्दु रहेको छ । तर, बढी मात्रामा जहाज महेन्द्र नगर भएर बाहिरने गर्छ ।

यी विमानस्थलमा आउने आउने जहाजका लागि सिमरा हुँदै आएर अवतरण गर्दा दूरी लामो पर्छ । प्रायः पश्चिमबाट आउने जहाज दिल्ली भएर नै आउँछन् । दिल्ली हुँदै आएको जहाज सिमरा हुँदै काठमाडांै, पोखरा, भैरहवा र निजगढ जाने दूरी लामो पर्छ । यी विमानस्थलमा आउने जहाजका लागि सहज र छोटो दूरी नेपालगन्ज प्रवेश विन्दु नै हो ।

नेपालगन्ज प्रवेश विन्दु पाएको अवस्थामा एयरलाइन्स कम्पनीलाई पनि दूरी छोटोपर्ने र सिमराको बढ्दो ट्राफिक जाम पनि कम हुने प्राधिकरणको भनाइ छ ।

जनकपुरको विकल्पमा विराटनगर प्रवेश विन्दु पनि नेपालका लागि सहज हुने प्राधिकरणको भनाइ छ । प्राथमिकतामा जनकपुर भएपनि विकल्पमा विराटनगर विन्दु रहेको छ ।

पूर्वबाट आएका जहाजले सिमराबाट प्रवेश गरी काठमाडौंका अवतरण गर्दाभन्दा विराटनगरबाट आएर काठमाडौंका अवतरण गर्दा १६ नर्टिकल माइल दूरी कम पर्न आउँछ । यसको फाइदा एयरलाइन्स कम्पनीलाई हुन्छ ।


पुष्प दुलाल