राजधानीको फोहोरमा कालो ब्यापार, बार्षिक गुपचुप पौने ४ अर्बको कारोबार




काठमाडौं । तपाइको घर वा डेरामा साताको १ वा २ पटकसम्म सिटी फुक्दै फोहोर संकलन गर्ने मान्छेहरु आएको देख्नु भएकै होला । फोहोर संकलकहरु कहिले हप्तामा २ चोटीसम्म र कहिले हप्तौं नआएको अनुभव तपाइसँग पक्कै पनि होला ।

यति मात्रै होइन, तपाइले मासिक रुपमा फोहोरको पैसा तिर्नुभएको पनि होला । आफ्नै घर छ भने डेरावालसँग पनि पैसा उठाएर र डेरामा बस्नुहुन्छ भने घरधनीलाई डेराभाडासँगै जोडेर फोहोरको पैसा पनि तिर्ने गर्नुभएको होला ।

डेरावाल हुनुहुन्छ भने घरधनीलाई फोहोरको पैसा मासिक कम्तिमा १०० रुपैयाँ तिर्ने गर्नुभएकै होला । घरधनी हुनुहुन्छ भने फोहोरवालालाई मासिक कम्तिमा ५ सय रुपैयाँ तिर्ने गर्नुभएकै होला ।

त्यसरी फोहोरको पैसा लिन आउँने ब्यक्ति को हुन् ? महानगरका कर्मचारी होलान् भन्ने तपाइको जवाफ हो भने एक छिन पख्नुस्, ती महानगर वा नगरपालिकाका कर्मचारी होइनन् ।

तपाईको घरमा आएर फोहोर उठाउने र फोहोर उठाए बापत तपाईसँग पैसा लिने केही नीजी कम्पनी, एनजीओ र सामुदायिक संस्थाहरु हुन् ।

को हुन त यी फोहार संकलक ? किन फोहोर उठाउँछन् र फोहोर कहाँ लगेर व्यवस्थापन गर्छन् भनेर हामीले कहिल्यै चासो देखाउने गर्दैनौं । तिनीहरुले हाम्रो घरको फोहोर उठाई दिन्छन् । अर्थात हामीलाई फोहोर कता लगेर फाल्ने वा फोहोर धेरै भयो भन्ने चिन्ताबाट मुक्त पारेका छन् भन्ने मात्रै हामीलाई लाग्ने गरेको हुन सक्छ ।

यी सबै फोहोर संकलकहरु महानगरमा गुपचुप रुपमा बार्षिक अर्बौ रकम आम्दानी गर्नेहरु हुन् । तपाईको घरमा आएर फोहोर संकलन गर्ने कुनै पनि कम्पनी, एनजीओ र सामुदायिक संस्थाको बारेमा काठमाडौँ महानगरपालिकालाई जानकारी नै छैन ।

न त यी कम्पनीले महानगरसंग फोहोर उठाउने सम्झौता गरेका छन्, न महानगरले नै उनीहरुलाई रोक्न सकेको छ । महानगरबाट अनुमति नलिएका यी कम्पनी, एनजीओ र सामुदायीक संस्थाले एक महिनामै फोहोर संकलन गरेवापत करोडौँ आम्दानी गर्ने गर्छन् । त्यो आम्दानीको एक रुपैयाँ पनि उनीहरुले महानगरलाई कर तिर्नुपर्दैैन् ।

आखिर किन कर तिर्नुपर्दैन ?
कर तिर्ने पनि कसरी, जब महानगरसँग कुनै लिखित सम्झौता नै भएको छैन । सम्झौता नै नभएको अवस्थामा कर पनि कुन आधारमा तिर्ने ? लिखित सम्झौता नभएकै कारण महानगरले उनीहरुलाई कानूनी दायरामा ल्याउन सकेको छैन । कम्पनीहरु पनि महानगरसँग सम्झौता गर्न गएका छैनन् । सम्झौता नगरेरै काम गर्न पाईएको छ भने सम्झौता गरेर किन आम्दानीको हिस्सा महानगरसँग बाड्ने ?

महानगरलाई पनि हाईसञ्चो भएको छ । महानगरले गर्नुपर्ने काम कम्पनी, एनजीओ र सामुदायकीक संस्थाले गरिरहेका छन् । महानगरको उत्तरदायित्व वहन गरिरहेका यी फोहोर संकलक कहाँ कति छन् र कसरी फोहोर उठाउँछन भन्नेमा महानगर अनविज्ञ छ । यसरी फोहोर संकलन गर्नेहरुले कहाँ कहाँ र कति पैसा लिएर फोहोर संकलन गर्छन् र कहाँ विसर्जन गर्छन् भन्ने आफूहरुलाई आधिकारिक रुपमा जानकारी नभएको काठमाडौं महानगरको वातावरण विभागका प्रमुख हरि कुँवर बताउँछन् ।

बार्षिक पौने ४ अर्बको कारोबार
केन्द्रीय तथ्याकं विभागको तथ्याकं अनुसार काठमाडौमा ४ लाख ३५ हजार ५ सय ४४ वटा घर छन् । यस्तै ललितपूरमा १ लाख ९ हजार ५०५ र भक्तपूरमा ६८ हजार ५५७ वटा घर छन् । यसरी हेर्दा काठमाडौं उपत्यकामा मात्रै ६ लाख १३ हजार ६०६ घर छन् ।

प्रत्येक घरले मासिक औसतमा ५ सय रुपैयाँ नै तिर्छन भन्ने मान्ने हो भने पनि मासिक ३० करोड ६८ लाख ३ हजार रुपैयाँ फोहोर संकलकले घरधनीसँग उठाउँछन् । यस्तो रकम बार्षिक रुपमा गणना गर्ने हो भने ३ अर्ब ६८ करोड १६ लाख ६४ हजार रुपैयाँ हुन्छ ।

यति मात्रै होइन, रेष्टुरेन्ट, सपिङ मल र होटलहरुले मासिक ४० हजार रुपैयाँसम्म फोहोरको पैसा तिर्ने गरेका संकलकहरु नै बताउँछन् ।

अहिले महानगरका वडाहरुमा विभिन्न नाममा खुलेका कम्पनीदेखि युवा क्लब सम्मले फोहोर संकलन गरिरहेका छन् । यस्तो रकमको बारेमा राज्यका निकायहरुलाई जानकारी र करको दायरमा भने आएको छैन ।


क्लिकमान्डु