‘सर्वहारा सरकार’को जनतालाई उपहारः खाने तेल, मोबाइल, कपडा र चिनीमा महंगी




काठमाडौं । सर्वहारा अधिनायकत्व स्थापना गर्न गठन भएको नेकपा माले हुदै बनेको एमाले र त्यसैको लागि ससस्त्र विद्रोह समेत गरेर आएको नेकपा माओबादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीको दुई तिहाइ बहुमतको सरकारले पहिलो बजेट मार्फत नै जनतामा महंगीको भार थोपरिदिएको छ ।

सरकारले आगामी आर्थिक बर्षको लागि ल्याएको बजेट मार्फत खाने तेल, मोबाइल र चिनीको मूल्य अभिबृद्धि कर (भ्याट) फिर्ता बन्द गरेर जनताको थाप्लोमा महंगीको भार थपिदिएको हो ।

अर्थमन्त्री डा. युुवराज खतिवडाले आगामी आर्थिक बर्षको लागि ल्याएको बजेटमा खाने तेल, मोबाइल, चिनी र कपडामा भ्याट फिर्ता रोकिएको जानकारी दिए । यस्तो ब्यवस्थाको आर्थिक भार भने उपभोक्तालाई नै थपिनेछ ।

सरकारले यसअघि मोबाइल सेटको आयातमा मूल्यको ४० प्रतिशत भ्याट फिर्ता गर्ने ब्यवस्था गरेको थियो । यस्तो ब्यवस्था अहिले हटेको छ । यस्तै मोबाइल आयातमा ५ प्रतिशत अन्तःशुल्क पनि बढेको छ ।

मोबाइल आयातकर्ताले भ्याटको ४० प्रतिशत रकम फिर्ता पाउनु भनेको उसले ५.२ प्रतिशत भ्याट छुट पाउन हो । यो रकम सरकारले फिर्ता गर्दा ब्यापारीहरुले त्यस्तो रकमलाई नाफामा गणना गरेर उपभोक्तालाई सोही अनिुसार मूल्य तिराउँथे । अब भ्याट फिर्ता नपाउने भएपछि ब्यापारीले फिर्ता पाउने भ्याटको ५.२ प्रतिशत र बढेको अन्तःशुल्क ५ प्रतिशत थप गरी उपभोक्ता मूल्य कायम हुनेछ । यसो गर्दा मोबाइलको अहिलेको मूल्यमा करिब १२ प्रतिशतले बढ्ने ब्यापारीहरुले बताएका छन् ।

यस्तै खाने तेल र घ्यूको मूल्यमा कम्तिमा पनि प्रतिलिटर २० रुपैयाँ मूल्य बढ्ने देखिएको छ । सरकारले खाने तेल र घ्यूको भ्याटमा ५० प्रतिशत रकम फिर्ता दिदै आएको थियो । यसको वास्तविक अर्थ भनेको खाने तेल र घ्यू उत्पादकले १३ प्रतिशत भ्याट तिर्नुपरे पनि वास्तविक रुपमा उनीहरुले ६.५ प्रतिशत तिर्दा हुन्थ्यो । अब उत्पादकले १३ प्रतिशत नै भ्याट तिर्नु परेपछि उपभोक्तालाई ६.५ प्रतिशत मूल्य यही ब्यवस्थाले बढाइ दिन्छ ।

यस्तै खाने तेल र घ्यूको अन्तःशुल्क बजेट अघिसम्म मूल्यको २.५ प्रतिशत थियो । सरकारले बजेट मार्फत यस्तो दर बढाएर १० प्रतिशत पुर्याएको छ । यो ब्यवस्थाले खाने तेल र घ्यूको मूल्य प्रतिलिटर २० रुपैयाँ जतिले बृद्धि हुने ब्यापारीहरु बताउँछन् ।

सरकारले यसअघिसम्म चिनीको बिक्रीमा ९० प्रतिशत भ्याट फिर्ता दिदै आएको थियो । अब यो ब्यवस्था पनि हटेको छ । यस्तो ब्यवस्थाले चिनीको मूल्य प्रतिकेजी ८ रुपैयाँसम्म महंगो पर्न सक्ने ब्यापारीहरुको भनाइ छ ।

यस्तै कपडाहरुमा सरकारले ५० प्रतिशत भ्याट फिर्ता गर्ने गरेको थियो । यस्तो ब्यवस्था हटेपछि कपडा उद्योग नै बन्द गर्नुपर्ने अबस्था आएको एक उद्योगीले बताए ।

आन्तरिक राजस्व विभागका प्रवक्ता यज्ञप्रसाद ढुंगेल यस्तो ब्यवस्थाले मूल्य बृद्धि नहुने दाबी गर्छन् । भ्याट फिर्ताको सुविधा ब्यापारीबाट उपभोक्तासम्म नपुगेकोले भ्याट फिर्ता बन्द गर्दा त्यसको असर मूल्यमा नपर्ने उनको दाबी छ ।

‘भ्याट फिर्ताको ब्यवस्था भएपनि त्यसले उपभोक्तालाई राहत दिएको थिएन, त्यसैले भ्याट फिर्ता रोकिदैमा सिद्धान्ततः मूल्य बढ्नुपर्ने कारण देखिदैन,’ उनले क्लिकमाण्डूसँग भने ।

नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका भने यस्तो ब्यवस्थाले उपभोक्ता मूल्य बढाउने र चोरी पैठारी बढाउने बताउँछन् ।

‘हिजोसम्म भ्याट फिर्ता पाउने बस्तुको त्यही अनुसार मूल्य कायम गरिन्थ्यो, अब फिर्ता नपाउने भएपछि ब्यापारीले सोही अनुसार मूल्य कामय गर्नुपर्ने हुन्छ, त्यसकारण यस्तो ब्यवस्थाले बस्तु महंगो हुने र चोरी पैठारी बढ्ने जोखिम छ,’ मुरारकाले क्लिकमाण्डूसँग भने ।


क्लिकमान्डु