ट्याक्सीधनी भन्छन्ः हामीले गरिखान नपाउने ?
काठमाडौं । गुणस्तर तथा नापतौल विभागले ट्याक्सी चालकले गरेका काम कारबाहीको अनुगमन गर्न नसक्दा ट्याक्सी ड्राइभरको मनोमानी बढेको छ ।
गत बर्षभरी विभागले कम्तिमा ४५ पटक ट्याक्सीको अनुगमन गरेको थियो । गत चैत यता कुनै अनुगमन नभएको विभागको भनाइ छ ।
विभागका अनुसार पछिल्लो समय कर्मचारीको कमी भएकै कारण अनुगमनमा समस्या भएको हो । विभागमा ट्याक्सी अनुगमनको लागि विभागमा ५ जनाको दरबन्दी तोकिएकोमा अहिले ३ जना मात्र कर्मचारी रहेको विभागले जानकारी दिएको छ ।
‘सुरुवातमा ६÷७ हजार ट्याक्सी हुँदा अनुगमनको लागि ६ जना कर्मचारी थिए, अहिले १० हजार बढीको संख्यामा ट्याक्सी छन्, तर अनुगमनमा जाने कर्मचारीको संख्या घटेर ३ जनामा सिमित भएको छ, यी कर्मचारीले विभाग भित्रको काम गर्ने कि अनुगमनमा जाने भन्ने समस्या छ,’ विभागका एक अधिकारीले क्लिकमाण्डूसँग भने ।
विभागका महानिर्देशक विश्वबाबु पुडाशैनी संक्रमणकालिन अवस्थाका कारण कर्मचारी राख्न नसकिएको बताउँछन् ।
अहिले कर्मचारी सरुवा पनि गर्न नमिल्ने, काजमा पनि ल्याउन नमिल्ने भएकै कारण कर्मचारी थप गर्न समस्या परिरहेको उनले बताए ।
‘आवश्यक कर्मचारी कि त सरुवा गरेर ल्याउनु पर्यो कि त काजमा ल्याउनु पर्यो, अहिले यी दुबै अबस्था छैनन्, यसैले कर्मचारीको कमी भएको हो,’ महानिर्देशक पुडाशैनीले क्लिकमाण्डूसँग भने ।
कर्मचारी व्यवस्थापन गर्नका लागि अझै एक डेढ महिना कुर्नु पर्ने, त्यसपछि मात्रै आवश्यक कर्मचारी व्यवस्थापन हुने उनले जानकारी दिए ।
‘अहिले जम्मा ३ जना कर्मचारी छन्, त्यसले गर्दा ट्याक्सीको विषयमा हुने कामहरु पनि राम्रोसँग हुन सकेको छैन, एक जनाले सिल लगानु पर्यो, एक जना मेसिनमा बस्नु पर्यो, अर्को बिल बनाउने चाहियो, एउटा फाइलिङ गर्ने चाहियो, यसरी हेर्दा ४ जना अनिवार्य चाहिने हो,’ पुडाशैनीले भने ।
ट्याक्सीको विषयमा मुख्य समस्या भनेकै मिटरमा नहिड्ने, जथाभाबी पैसा उठाएर यात्रुलाई ठग्ने रहेको उनको भनाइ छ ।
‘उनीहरुको भित्री समस्या होला, उनीहरुको खर्च नपुग्ने होला, तर प्रमुख समस्या के हो भने उनीहरु सकेसम्म यात्रुबाट पैसा कसरी असुल्ने भन्दा अरु कुरा सोच्ने नै गर्दैनन्, ट्याक्सीको समस्या यही हो,’ उनले भने ।
यसरी यात्रु ठग्ने ट्याक्सीवालालाई बोलाएर विभागले सचेत गराउने पनि गरेको छ ।
‘ट्याक्सीवालाहरुलाई हामीले सम्झाउन पटक पटक बोलाएका पनि छौँ, तर उनीहरुको गुनासो फेरि त्यही हुन्छ, पैसा पुगेन भन्छन्, यहाँ यात्रुको पनि समस्या छ, उनीहरु आफै मिटरमा जाने भन्नुभन्दा पहिला कतिमा जाने भनेर सोध्छन्, यसलाई परिवर्तन गर्न आवश्यक छ,’ पुडाशैनीले भने ।
आगामी दिनमा यो विषयलाई हल्का रुपमा नभई दिर्घकालिन रुपमा समस्या समाधानको लागि छलफल भइरहेको उनले बताए ।
‘हामीले यो विषयलाई मन्त्रालयस्तरमा पनि राखेका छौँ, यसको लागि छलफल भइरहेको छ,’ उनले भने ।
ट्याक्सी चालकहरुले भाडा समायोजनको माग पटक पटक राख्दै आएका छन् ।
पुडाशैनीले भाडा समायोजनमा जाने हो भने ट्याक्सीले पनि रुट अनुसार बस जस्तै चलाउनु पर्ने बताए ।
‘उनीहरुले भने जस्तो भाडा समायोजन गर्न सम्भव नै छैन, कहाँदेखी कहाँसम्मको भाडा तोकिदिने, कित लोकल बस भएर हिड्नु पर्यो, रुट अनुसार उनीहरुले पनि चलाउनु पर्यो, लोकल बस जस्तो खोजेको हो भने त ट्याक्सीमा मिटर पनि हाल्नु परेन, त्यस्तै हो भने यातायातसँग कुरा गरेर माइक्रोबसमा ८ जना यात्रु भनिए जस्तो उनीहरुकोमा ४ जना यात्रु बस्छन्, हामी पनि त्यही अनुसार भाडा समायोजन गरिदिन्छौं,’ महानिर्देशक पुडाशैनीले भने ।
यसो भन्छन् ट्याक्सी चालक
२३ वर्षदेखि ट्याक्सी चलाउँदै आएका कृष्ण बहादुर सापकोटा नेपालमा सबै कुरामा मूल्य बढे पनि ट्याक्सी भाडा नबढेको बताउछन् । दिनमा ३/४ टिप गर्ने गरेका उनी कहिलेकाही १ टिप मात्र चलाउनुपर्दा घर खर्च चलाउन गाह्रो हुने बताउछन् ।
‘पेट्रोलको मूल्य हप्ता १५ दिन नपुग्दै बढ्छ, हामीले भाडा समायोजन गरिदेउ मात्र भनेका हौँ, भाडा समायोजन नहुँदा बाध्यताले पनि मिटरमा नगइ कतिमा जाने भनेर वहस गर्नुपरेको छ,’ सापकोटाले भने ।
ट्राफिकले सिभिल ड्रेसमा आएर चेक गर्ने तर मिटरमै लान्छुभन्दा पनि यत्तिकै जाउँ भन्दै चिट काट्ने गरेको उनी बताउछन् ।
९ वर्षदेखि ट्याक्सी चलाएर जिविकोपार्जन गर्दै आएका सन्तोष कुमार कार्कीले अघिल्लो वर्ष मात्र ८ प्रतिशत ब्याजदरमा ऋण लिएर आफैले ट्याक्सी किनेका थिए । पछिल्लो समय उनी बैंकलाई १४ प्रतिशतको ब्याज बुझाउन बाध्य छन् ।
‘बैंकको ऋणको ब्याजदर बढ्छ, दाल, चामलदेखि घरभाडासम्म सबै कुरामा मूल्य बढ्छ, तर हामीले यात्रुसँगै भनेर अलि बढी पैसा लियो भने ३ हजार रुपैयाँ जरिवाना तिर्नुपर्छ,’ कार्कीले गुनासो गरे ।
ट्याक्सी चालकबाट सरकारले अनावश्यक रुपमा पैसा असुलेको कार्कीको आरोप छ ।
‘सुरुमा मिटरबक्स अनिवार्य भनियो, अहिले २० हजार रुपैयाँ तिरेर बिलिङ मेसिन जोड्नु परेको छ, अब गाडीभाडा तिर्ने छुट्टै एप आउछ रे, त्यसको पनि पैसा लाग्छ होला, सरकारले गरी खान दिदैन, पैसा लुट्ने बाटो मात्र हेरेर बसेको हुन्छ,’ कार्कीले भने । यस्ता एप्सको पैसा लाग्दैन भन्ने उनलाई थाहा रहेनछ ।
यस्तै १६ वर्षदेखि ट्याक्सी चलाउदै आएका पूर्णबहादुर मगर २०७० सालदेखि अहिलेसम्म सबै कुरामा महंगी बढेको तर ट्याक्सी भाडा नबढेको बताउँछन् ।
‘ट्याक्सी भाडा बढाए हामीले बढी पैसा लिनै पर्दैन, कि भाडा समायोजना गरिदिनु पर्यो, होइन भने यहाँदेखि त्यहाँसम्मको यति भाडा भने भै हाल्यो नि, हामीले गरिखान पाउनु परेन र,’ मगरले भने ।
ट्याक्सी चालकप्रति सरकार र सर्बसाधारणले पनि नकारात्मक धारणा बनाएको उनको आरोप छ ।
‘हामीलाई सबैले ठग, चोर भन्छन्, मिटरमा उठेको पैसाले पेट्रोल पनि आउँदैन, हाम्रो मर्का कसैले बुझ्दैन, सबैले आरोप मात्रै लगाउँछन्,’ मगरले भने ।
यस्तै ५ वर्षदेखि ट्याक्सी गुडाएरै जिविकोपार्जन गरिरहेका श्याम शाही भाडा समायोजन नहुँदा, ट्राफिकले सिभिल ड्रेसमा आएर मनोमानी रुपमा चिट काट्ने गरेको बताउछन् ।
‘कम्तिमा हामीले पर्यटक बोक्दा त अलि बढी लिन पाउनु पर्छ, पर्यटक बोक्दा समेत बढी पैसा लियो भनेर ट्राफिकले चिट काट्छन्, यहाँ ट्राफिकको नाङगो नाच चलेको कोही देख्दैन, सरकारी निकायले पैसा खादा कारवाही हुन्न, हामीले अलिकति बढी भाडा लिए कारवाही हुने, सबैले गरिखान पाउनु पाउनु परेन र,’ शाहीले भने ।
भाडा समायोजन नभएसम्म बिलिङ मिटर राखेर मात्र कुनै कुरा समाधान नहुने उनको भनाइ छ ।