सित्तैमा सेयर बजारबारे जानकारी लिन भृकुटीमण्डप जानुहोस्
काठमाडौं । आजदेखि नेपालमै पहिलोपटक पुँजी बजार प्रदर्शनी शुरु भएको छ । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले उक्त प्रदर्शनीको आयोजना गरेको हो ।
प्रदर्शनीमा प्रवेश गर्न पैसा लाग्ने छैन । पुँजी बजारसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उदेश्यले बोर्डले आफ्नो स्थापनाको २५ वर्ष प्रवेस गरेको अवसरमा प्रदर्शनीको आयोजना गरेको हो । उक्त प्रदर्शनीको उदघाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गर्दैछन् ।
आज र भोलि हुने प्रदर्शनीमा पुँजी बजारसँग सम्बन्धीत कम्पनी एवम् संस्थाहरुले आआफ्नो स्टल संचालन गर्नेछन् । प्रदर्शनीमा नेपाल स्टक एक्चेन्ज, सीडिएस एण्ड क्लियरिङ्ग लि., धितोपत्र दलाल कम्पनी, मर्चेन्ट बैंकर, सामूहिक लगानी कोष, क्रेडिट रेटिङ्ग कम्पनी, डीपी र आस्वा सेवा प्रदान गर्ने कम्पनीहरु, सुचिकृत कम्पनीहरुका साथै नेपाल राष्ट बैंक, बीमा समिति तथा आइक्यानको सहभागितामा करीब १७० बटा स्टल रहने बोर्डले जनाएको छ ।
कार्यक्रममा पुँजी बजारका बारेमा हालसम्म प्रकाशन भएका विविध अध्ययन सामग्रीहरुको निःशूल्क वितरण गरिने छ । त्यस्तै, पुँजी बजारका विज्ञहरुको उपस्थितीमा अन्तक्रिया कार्यक्रम संचालन र सहभागीहरुका मनमा उठेको जिज्ञासाहरुको सम्बोधन समेत गरिने छ ।
प्रदर्शनीमा सेयर बजारसँग सम्बन्धीत सम्पूर्ण सेवा तथा सुविधाका बारेमा जानकारी पाइनेछ । मर्चेन्ट बैंक, सेयर ब्रोकर, सीडिएससी, सीआस्वा, प्राथमिक र दोस्रो बजार लगायतका विषयमा अत्यावश्यक जानकारी पाइनेछ ।
त्यस्तै, नेपालको पुँजी बजारको आकार, पुँजी बजारमा संलग्न कम्पनीहरु, पुँजी बजारसँग सम्बन्धित सेवा र सेवा उपलब्ध गराउने कम्पनी एवम् संस्थाहरु लगायतका बारेमा समेत जानकारी पाइनेछ ।