कृषि विकास बैंकको नाफा १ अर्ब ७८ करोड, प्रभु बैंकले कमायो ८६ करोड




काठमाडौं । प्रभु बैंकले चालु आर्थिक बर्षको चैत मसान्तसम्ममा ८६ करोड ७१ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत पुस मसान्तसम्ममा प्रभुले ६३ करोड ४९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । तीन महिनाको अबधिमा प्रभुले २५ करोड रुपैयाँभन्दा धेरै नाफा बढाएको छ ।

प्रभुसँग चैत मसान्तसम्ममा ८७ अर्ब ६४ करोड ३५ लाख रुपैयाँ निक्षेप छ भने ७३ अर्ब ७ करोड ३ लाख रुपैयाँ कर्जा तथा लगानी रहेको छ । बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९० करोड २५ लाख रुपैयाँ रहेको छ । यो अािर्थक वर्षको चैत मसान्तसम्ममा बैंकको कुल सञ्चालन आम्दानी २ अर्ब ६१ करोड २४ लाख रुपैयाँ रहेको छ ।

प्रभुले सम्भावित कर्जा नोक्सानी ब्यवस्थाबाट ७५ करोड ७४ लाख रुपैयाँ फिर्ता गरेको छ । बैंकको निस्क्रिय कर्जा ३.९ प्रतिशत छ ।

बैंकको आधार ब्याजदर १०.१७ प्रतिशत रहेको छ । बैंकको औषत ब्याजदर अन्तर ४.४१ प्रतिशत रहेको छ ।

सरकारी लगानी समेत रहेको कृषि बिकास बैंकले यो बर्षको ९ महिनामा पनि आफ्नो नाफा अर्ब कटाएको छ । उसले १ अर्ब ७८ करोड ८३ लाख रुपैयाँ खुद नाफा गरेको हो । गत बर्षको ९ महिनामा उसले १ अर्ब २ करोड ९१ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकले प्रकाशित गरेको चालु आर्थिक बर्षको चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकसँग ९७ अर्ब १० करोड ५६ लाख रुपैयाँ निक्षेप छ । अघिल्लो वर्ष चैत मसान्तमा ९८ अर्ब १७ करोड ३४ लाख रुपैयाँ निक्षेप थियो । बैंकको निक्षेप यो वर्ष घटेको छ ।

बैंकको कर्जा तथा सापट ९४ अर्ब ८९ करोड ७१ लाख रुपैयाँ छ । बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ३० करोड ७४ लाख रुपैयाँ छ ।

बैंकको खुद सञ्चालन आम्दानी ५ अर्ब ३५ करोड ७२ लाख २८ हजार रुपैयाँ रहेको छ ।

बैंकको सम्भावित कर्जा नोक्सानी व्यवस्थाबाट १ अर्ब ८० करोड ५४ लाख रुपैयाँ फिर्ता भएको छ । यो फिर्ताले बैंकको खुद नाफा बृद्धिमा सहयोग गरेको हो ।

बैंकको निस्क्रिय कर्जा ३.४९ प्रतिशत रहेको छ । बैंकको आधार ब्याजदर १२.७५ प्रतिशत रहेको छ । बैंकको औषत ब्याजदर अन्तर ५.६१ प्रतिशत छ । नेपाल राष्ट्र बैंकले यस्तो ब्याज अन्तर ५ प्रतिशतभन्दा बढी हुन हुदैन भनेको छ ।

बैंकको प्रतिशेयर आम्दानी २४.२० रुपैयाँ छ । बैंकको मूल्य आम्दानी अनुपात १३.८८ छ ।


क्लिकमान्डु