आज ५ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

91
Shares

काठमाडौं । आज देशका विभिन्न भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो र राति देशका अधिकांश भू-भागमा बदली रही हल्कादेखि मध्यम वर्षा हुनेछ ।

आज दिउँसो पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

विशेषगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

यस्तै, तराईका बागमती, गण्डकी र लुम्बिनीका केही स्थान तथा कोशी, मधेश र सुदूरपश्चिमका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ ।

हिमाली भू-भागका केही स्थानमा भने मध्यम वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ । मौसम पूर्वानुमान अनुसार आज राति पनि वर्षाको क्रम जारी रहने देखिन्छ ।

रातिको समयमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, देशका पहाडी क्षेत्रका केही स्थान र तराईका बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ । हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्नेछ ।

भारी वर्षा र मेघगर्जनका कारण हुन सक्ने सम्भावित जोखिमबाट बच्न महाशाखाले सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।