जफत गरिएका ९ वटा मोटरसाइकल लिलाम बिक्री गर्दै मुस्ताङ भन्सार कार्यालय

42
Shares

काठमाडौं । मुस्ताङ भन्सार कार्यालय, नेचुङले चोरी पैठारीको अभियोगमा जफत भई कार्यालयमा दाखिला भएका ९ वटा मोटरसाइकलहरू लिलाम बिक्री गर्ने भएको छ ।

भन्सार नियमावली, २०६४ को नियम ८५ को उपनियम (१) बमोजिम कार्यालयले २०८३ साउन १२ गते १५ दिने सूचना प्रकाशित गर्दै गोप्य सिलबन्दी बोलपत्र आह्वान गरेको हो ।

सूचना अनुसार लिलाम गरिने सवारी साधनहरूलाई दुई समूहमा वर्गीकरण गरिएको छ । पहिलो समूहमा यातायात व्यवस्था कार्यालयमा दर्ता हुन सक्ने लिफान, सिन्गुइजुन र कोलेसा कम्पनीका ६ वटा मोटरसाइकलहरू रहेका छन् ।

यी मोटरसाइकलहरूको न्यूनतम मूल्य प्रतिगोटा ५० हजारदेखि १ लाख १० हजार रुपैयाँसम्म तोकिएको छ । दोस्रो समूहमा पत्रुको रूपमा बिक्री गरिने ३ वटा मोटरसाइकलहरू छन्, जसको न्यूनतम एकमुष्ठ मूल्य ४२ हजार रुपैयाँ कायम गरिएको छ ।

इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संस्थाले यो सूचना प्रकाशित भएको १५ दिनभित्र गोप्य सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलपत्र फाराम जोमसोमस्थित मुस्ताङ भन्सार कार्यालयबाट खरिद गर्न सकिने र सवारी साधनहरू ‘जे-जस्तो अवस्थामा छन् सोही अवस्थामा’ लिलाम गरिने कार्यालयले जनाएको छ । यस सम्बन्धी थप विस्तृत विवरण भन्सार विभागको आधिकारिक वेबसाइटमा समेत हेर्न सकिने सूचनामा उल्लेख छ ।