बुटवलमा निर्माण भइरहेको होटल सफ्रोन सीकेको लागत बढ्यो, कतिमा बन्दैछ ?

105
Shares

काठमाडौं । बुटवलमा बन्दै गरेको होटल सिफ्रोन सीके प्रालिको निर्माण लागत बढेको छ ।

कम्पनीले सुरुमा ३ अर्ब ९ करोड रुपैयाँ लागतमा पाँच तारे होटल बनाउने योजना बनाएको थियो । जसमा कम्पनीले १ अर्ब ८५ करोड रुपैयाँ कर्जा १ अर्ब २४ करोड रुपैयाँ इक्विटीमार्फत् होटल बनाउने योजना बनाएको थियो । कम्पनीले लगानीको अनुपात ६०ः४० ऋण–इक्विटी राखेको थियो ।

कम्पनीले सुरूमा क्यासिनोका लागि छुट्टै जग्गा र भवन बनाउने योजना बनाएसँगै लागत बढेको उल्लेख छ । कम्पनीले होटलमा क्यासिनो सञ्चालनका लागि छुट्टै जग्गा तथा भवन निर्माण गर्ने योजना बनाएको छ । जसले गर्दा होटलको लागत बढाएको हो ।

साथै, जग्गाको ल्यान्डस्केपिङ, उचित ढल व्यवस्थापन तथा सडक निर्माणका कारण पनि लागत वृद्धि भएको छ ।
कम्पनीले हाल बनाएको योजनाअनुसार होटलमा १ सय ९ वटा कोठाको सुविधा हुनेछ ।

होटलमा रेष्टुरेन्ट, स्वीमिङ पुल, कन्फरेन्स तथा ब्याङ्क्वैट हल, स्पा, क्यासिनोलगायत अन्य सुविधाहरु हुनेछ । होटल निर्माणको कुल लागत ३ अर्ब १४ करोड ५० लाख रुपैयाँ रहेको छ । जसमा कम्पनीले लगानीको अनुपात ७०ः३० को ऋण–इक्विटी राखेको छ । कम्पनीले २ अर्ब १९ करोड रुपैयाँ कर्जा लिई लगानी गर्नेछ भने बाँकी इक्विटीमार्फत् लगानी गर्नेछ ।

कम्पनीले हायातसँग होटल व्यवस्थापनका लागि सम्झौता गरेको छ । सन् २०१८ मा दर्ता भएको कम्पनीको होटल ५ हजार ७ सय ४६ स्क्वारफिट क्षेत्रफलमा फैलिनेछ ।

चुन्नाप्रसाद शर्मा अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब २४ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब १९ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५ करोड रुपैयाँको रेटिङ गराएको हो ।