विश्वकै उत्कृष्ट लक्जरी होटलको सूचीमा नेपालको शिन्तामणि मुस्ताङ पहिलो नम्बरमा

8.8k
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय प्रसिद्ध लक्जरी लाइफस्टाइल म्यागेजिन रोब रिपोर्टले सन् २०२६ का लागि विश्वका ५० उत्कृष्ट लक्जरी होटलहरूको सूची सार्वजनिक गरेको छ । यस प्रतिष्ठित सूचीमा नेपालको मुस्ताङस्थित शिन्तामणि मुस्ताङ परेको छ । रोबले यो होटललाई विश्वकै उत्कृष्ट आतिथ्यताको सेवाको पहिलो स्थानमा राखेर रिपोर्ट सार्वजनिक गरेको छ ।

विश्वभरका उत्कृष्ट होटल, रिसोर्ट र सफारी क्याम्पहरूलाई उछिन्दै नेपालको यो रिसोर्ट ‘रैरेफाइड प्यान्थियन’ अर्थात विश्वकै अद्वितीय विलासी गन्तव्यको सूचीमा राखेको हो ।

कालीगण्डकी नदी नजिकैको यो रिसोर्ट प्रख्यात म्याक्सिमलिस्ट डिजाइनर बिल बेन्स्लीको परिकल्पना हो। परम्परागत बाग्लुङ ढुङ्गा प्रयोग गरी बनाइएको यस भवनका २९ वटा कोठा सबैबाट हिमालको अद्भूत दृश्य देख्न सकिन्छ।

यात्रा विशेषज्ञ क्रिस्टोफर विल्मोट-सिटवेलले यसलाई शरीर, मन र आत्माको शान्तिका लागि परम विश्रामस्थल भनेर व्याख्या गरेका छन्। यो रिसोर्टमा आउने पाहुनाहरूका लागि कम्तीमा पाँच रातको बसाई अनिवार्य गरिएको छ । यहाँ आउने पहुँनाहरुले पूर्ण रूपमा पुनर्ताजगी महसुस गर्ने गरी ५ रातको प्याकेज तयार पारिएको उल्लेख छ ।

एभरेष्ट क्षेत्रको तुलनामा कम जनघनत्व भएको र शान्त रहेको मुस्ताङको यो क्षेत्र पर्यटकका लागि निकै आकर्षक मानिन्छ। यहाँ आउने पर्यटकहरूले घोडचढी, धनुषबाण र पदयात्राको आनन्द लिन सक्छन्।

८ सय वर्ष पुरानो लुब्रा गाउँको भ्रमण, बोन बौद्ध धर्मको संस्कृति र रिसोर्टमै उपलब्ध परम्परागत तिब्बती चिकित्सकको सेवा यसका मुख्य आकर्षण हुन्।

रोब रिपोर्टले आफ्ना २४ जना ट्राभलर्सको सिफारिस र स्थलगत अनुभवका आधारमा उत्कृष्ट १० होटलको सूची तयार पारेको हो। सेवाको गुणस्तर, लोकेसन, व्यवस्थापन र मौलिकतालाई आधार मानेर गरिने यो मूल्यांकनमा शिन्तामणि मुस्ताङले सबैभन्दा बढी अंक बटुल्दै शीर्ष स्थान ओगट्न सफल भएको रोबले बताएको छ ।

नेपालको मुस्ताङले विश्वस्तरको यो सम्मान पाउनुले नेपाली पर्यटन क्षेत्रमा नयाँ उत्साह थपेको छ र नेपाललाई विश्वको प्रमुख ‘लक्जरी’ पर्यटकीय गन्तव्यको रूपमा स्थापित गरिदिएको उल्लेख छ ।

रोब रिपोर्टले तयार पारेको शीर्ष १० होटलहरूको सूची
१. शिन्तामणि मुस्ताङ (नेपाल)
२. सिंगिता क्विटोन्डा (रुवान्डा)
३. होप लज (स्कटल्याण्ड)
४. पार्क हयात टोकियो (जापान)
५. शक्ति प्राण (भारत)
६. कलेजियो अला क्वेर्से (इटाली)
७. क्लेरिजेज (बेलायत)
८. ले ब्रिस्टल पेरिस (फ्रान्स)
९. इस्लास सेकास (पानामा)
१०. कासा बोनाभिटा (माल्टा)