बुध्द एयरले साढे ९ महिनामा गर्यो सवा १० अर्ब रुपैयाँको व्यापार, बजार हिस्सा ५७%

इन्धनको मूल्य बढ्दा यात्रु ३३% ले घटे

77
Shares

काठमाडौं । बुध्द एयरले गत आर्थिक वर्षको साढे ९ महिनाको अवधिमा सवा १० अर्ब रुपैयाँको व्यापार गरेको छ ।
कम्पनीले गत आवको साढे ९ महिनाको अवधिमा १० अर्ब ३१ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२५ मा १३ अर्ब ६७ करोड ३० लाख रुपैयाँ, सन् २०२४ मा १३ अर्ब २२ करोड ६० लाख रुपैयाँ, सन् २०२३ मा १२ अर्ब १६ करोड ९० लाख रुपैयाँ र सन् २०२२ मा १० अर्ब ९ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले गत आवको साढे ९ महिनाको अवधिमा ८.२ प्रतिशत सञ्चालन नाफा मार्जिन गरेको छ । सन् २०२३ मा १० प्रतिशत र सन् २०२५ मा १९.४ प्रतिशत सञ्चालन नाफा मार्जिन गरेको थियो । कम्पनीअनुसार गत आवमा उच्च इन्जिनको मर्मत खर्च तथा ओभरहल खर्च तथा इन्धनको मूल्यमा आएको वृद्धिका कारण मार्जिन घटेको हो ।

इरान अमेरिका युद्धका कारण इन्धनको मूल्य बढ्दा बुध्द एयरमा यात्रुको संख्या २०२५ अप्रिलको तुलनामा २०२६ अप्रिलमा ३३ प्रतिशतले घटेको छ ।

एयरलायन्स क्षेत्रमा लागू गरिएको न्यूनतम भाडादर सम्झौताको कारणले कम्पनीको प्रति किलोमिटर उपलब्ध सीट आम्दानी सुधार भई २१.२ रुपैयाँ पुगेको छ । तर, कर्मचारी खर्च, निरन्तर बढेको सञ्चालन खर्च र मर्मत तथा सम्भार खर्च वृद्धिका कारण साढे ९ महिनाको अवधिमा प्रति किलोमिटर उपलब्ध सीट आम्दानी २.८ रुपैयाँ सिमित भएको छ । गत आवको ९ महिनाको अवधिमा यात्रुको संख्यामा पनि सन् २०२५ को तुलनामा १० प्रतिशतले कमी आएको छ ।

सन् १९९६ मा स्थापना भएको कम्पनीले आन्तरिक ट्रङ्क रुटमार्फत् व्यापार गर्दै आएको छ । कम्पनीले आन्तरिक उडानसँगै भारतको वनारसी र कोलकतामा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । कम्पनी नेपालको निजी क्षेत्रको एयरलायन्समध्ये सबैभन्दा पुरानो र ठूलो कम्पनी हो । कम्पनीले हाल एउटा एटीआर–४२ र १४ वटा एटीआर–७२ एयरक्राफ्‌टमार्फत् सेवा दिँदै आएका छन् ।

कम्पनीले मुख्य रुपमा आन्तरिक आम्दानी सञ्चितको सन् २०२४ र सन् २०२५ मा १ प्रतिशत मात्र लाभांश वितरण गरेको थियो । उक्त अवधिमा दीर्घकालीन ऋणको अग्रिम भुक्तानी तथा अल्पकालीन ऋणमा गरिएको कमीका कारण कम्पनीको पुँजीकरण अवस्था सहज रहेको छ । गत आवको साढे ९ महिनासम्ममा कम्पनीको गियरिङ अनुपात १.० गुणा रहेको छ । सन् २०२५ मा १.४ गुणा थियो ।

कम्पनीको ऋण भुक्तानी क्षमता सूचक पनि सहज अवस्थामा रहेका छन् । साढे ९ महिनाको अवधिमा ऋण सेवा कवरेज अनुपात २.० गुणा रहेको छ । कुल ऋण/सञ्चालन मार्जिन अनुपात ३.८ गुणा रहेको छ । कम्पनीको सञ्चालन नाफा मार्जिनमा आएको दबाबका कारण सन् २०२५ को साढे ६ महिनाको तुलनामा उक्त सूचकहरु कमजोर देखिएका छन् । सन् २०२५ को साढे ६ महिनाको अवधिमा ऋण सेवा कभरेज अनुपात ३.९ गुणा थियो भने कुल ऋण/सञ्चालन मार्जिन अनुपात १.६ गुणा थियो ।

गत वर्ष बुध्द एयरको बजार हिस्सा ६० प्रतिशत रहेकोमा हाल ५७ प्रतिशतमा संकुचन भएको छ ।

कम्पनीअनुसार गत आवको साढे ९ महिनाको अवधिमा ऋण सेवा कभरेज अनुपातमा क्षतिग्रस्त भएको कम्पनीको बिमान सम्बन्धी बिमा दाबीबाट प्राप्त गैर–सञ्चालन आम्दानीले सकारात्मक योगदान दिएको जनाएको छ ।

वीरेन्द्र बहादुर बस्नेत अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब १२ करोड ६ लाख रुपैयाँ र १ करोड ३७ लाख अमेरिकी डलरको रेटिङ गराएको छ ।