कार्गो रेल आएपछि व्यवसायी उत्साहित, विराटनगरलाई त्रिदेशीय व्यापारिक ट्रान्जिट हब बनाउन जोड


विराटनगर । कार्गो रेल सेवाको सुरुवातसँगै विराटनगरलाई नेपाल, भारत र चीन वीचको व्यापारिक ट्रान्जिट हबका रुपमा विकास गर्न सरोकारवालाले आह्वान गरेका छन् ।

विराटनगरको जोगवनीदेखि चीनको किमाथाङका सम्मको कोशी मार्ग तथा काँकरभिट्टादेखि चीन जोडने ताप्लेजुङको टिपताला भन्ज्याङ नाका जोडने सडक मार्गको ट्रयाक खुलिसकेको छ ।

यस्तो अवस्थामा समुन्द्रपारीका मुलुकबाट कार्गो रेलबाट सस्तो ढुवानी लागतमा औद्योगिक कच्चा पदार्थ र व्यापारिक सामान ढुवानी गर्ने वातावरण पनि सृजना भएपछि औद्योगिक नगरका उद्योगी व्यवसायी र सरोकारवालाको ध्यान विराटनगरलाई त्रिदेशीय व्यापारिक हब तर्फ आकर्षित भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशीले आयोजना गरेको विराटनगरमा भारत र चीनसँगको अन्तरराष्ट्रिय व्यापारमा कोशी प्रदेशको सम्भावना एवं आईसीपीको पूर्वाधार विकास विषयक अन्तरक्रिया कार्यक्रममा यहाँका उद्योगी व्यवसायी सहित सरोकारवालाले विराटनगरलाई त्रिदेशीय व्यापारिक हबका रूपमा विकास गर्नुपर्ने सुझाएका हुन । उनीहरूले विराटनगरले अब भारत र चीनमात्र नभएर बंगलादेश र भुटानमा पनि कारोबार बढाउनु पर्ने सुझाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले निजी क्षेत्रले लामो समयदेखि माग गर्दै आएको कार्गो रेल मार्फत तेस्रो मुलुकबाट आयात निर्यात गर्न पाउनुपर्ने माग पुरा भएको उल्लेख गर्दै त्यसको भरपुर सदुपयोग गर्दै अब विराटनगर सहित सिंगो कोशी प्रदेशलाई त्रिदेशीय व्यापारिक हबका रुपमा परिणत गर्नुपर्ने बताए ।

भारतीय कार्गो रेल विराटनगर भंसार विन्दुसम्म आइपुगेको छ । यसले यस क्षेत्रका उद्योगी व्यवसायी उत्साहित भएका छन् । राउतले भने,’अब भारत र तेस्रो मुलुकबाट कार्गो रेलबाट सामान आउने भएपछि ढुवानी लागत कम हुने, उद्योगीको लागत घट्ने, सामान सुरक्षित हुने, भंसार परिसरमै अनलोड गर्न पाउने, चोरी हुने सम्भावना न्यून हुने पक्का छ ।’

उनले यस क्षेत्रका उद्योगी व्यवसायी र सरोकारवालाको ध्यान विराटनगरलाई त्रिदेशीय व्यापारिक केन्द्र बनाउनमा केन्द्रित हुन जरुरी रहेको औंल्याए ।

उनले आईसीपीमा पूर्वाधार विकास लगायत सुधारका धेरै काम गर्न बाँकी रहेको वताउदै सामान व्यवस्थापन गर्न गोदाम, क्रेन र अनलोडिंग उपकरणहरु पर्याप्त नहुँदा समय लाग्न गई डेमरेज शुल्क तिर्नु पर्ने अवस्था आउन सक्ने उल्लेख गर्दै त्यसको तत्काल व्यवस्थापन गर्न सरोकारवालालाई सुझाए ।

उद्योग व्यापारकालागि विराटनगर र सिंगो कोशी प्रदेश अत्यन्तै सम्भावना बोकेको प्रदेश भएको र भारत, चीन, बंगलादेश र भुटानको मुख्य प्रवेशद्वारको रुपमा रहेकाले यसलाई ट्रान्जिट हवका रुपमा विकास गर्नेतर्फ जानुपर्नेमा राउतको जोड छ ।

कोशी प्रदेशमा उत्पादित कृषिजन्य वस्तु चिया, अलैंची, अदुवा, बेसार लगायतका स्थानीय उत्पादनहरू निर्यात हुँदै आएकोले निर्यात प्रवद्र्धनका लागि एक्स्पोर्ट हाउस हुनु पर्छ,’ राउतले भने,’व्यापार सहजीकरणमा सरकारी निकाय वीचको समन्वयको कमीलाई व्यवस्थापन गर्न एकल विन्दु सेवा दिनु पर्ने र भंसार नाकामा प्रयोगशाला र भंसारमा आधुनिक प्रविधिको विकास गरिनु पर्ने एवं बढ्दो व्यापार घाटालाई कम गर्न आयात प्रतिस्थापन गरी निर्यातजन्य उद्योग स्थापनाका लागि जोड दिनुपर्छ ।’

भन्सार सुधार तथा व्यापार सहजीकरणका विज्ञ श्याम दाहालले नेपालले भारत, चीन र बंगलादेश सँगको पारवहन र व्यापार सम्झौताका बारेमा प्रष्ट पार्दै नेपाल व्यापार सहजीकरणका लागि चारवटा पक्ष भन्सार सुधार, निकासी पैठारीमा ननटेरिफ, माल वस्तु एक ठाउँबाट अर्को ठाउँमा जाँदा कुनै वाधा विरोध नगरी इलेक्ट्रोनिक कार्गो ट्र्याकिंग सिस्टमबाट ओसार पसार हुनु पर्ने र भन्सार विन्दुमा भौतिक पूर्वाधारका सुधार हुनु पर्नेमा जोड दिए ।

पूर्व सहसचिव रविशंकर सैंजुले इलेक्ट्रोनिक ट्रयाकिङ सिस्टमबाट फाइदा लिन सकिने बताउँदै नेपाल, भारत, बंगलादेश र चीनसँग भएका व्यापारिक सन्धिका प्रावधानका विषयको व्याख्या गरे । उजले व्यापारबाट बढी भन्दा बढी फाइदा लिनको लागि व्यवसायीहरू पनि सबै प्रावधानका विषयमा जानकार हुन जरुरी रहेको बताए ।

विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले भंसारबाट गरिने गतिविधिमा व्यवसायीलाई कुनै झन्झट नगरी समयमै सेवा दिनेमा विश्वस्त पारे ।

नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडा, उद्योग संगठन मोरंगका अध्यक्ष नन्दकिशोर राठी, मोरंग उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साह, नेपाल भारत उद्योग वाणिज्य संघका अध्यक्ष मुकेश उपाध्याय लगायतले कार्गो रोल सेवाको सहजतासँगै जोगवनी किमाथाङका, काँकरभिट्टा टिपताला मार्गलाई अधिकतम सदुपयोग गर्दै विराटनगर र सिंगो कोशी प्रदेशलाई त्रिदेशीय व्यापारिक केन्द्रमा विकास गर्न सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए । उनीहरूले विराटनगर र काँकरभिट्टा नाकाबाट भारत र चीनमात्र नभएर बंगलादेश र भुटानसँगपनि औद्योगिक र व्यापारिक कारोबार गरेर व्यापार घाटा कम गर्न सकिने सुझाए ।