
एजेन्सी । अमेरिकाले शुक्रबार दक्षिण इरानका पुल र अन्य महत्वपूर्ण पूर्वाधारहरूमा आक्रमण गरेको छ । त्यसले हर्मुज जलयोजकको नियन्त्रण त्याग्न तेहरानमाथि दबाब बढाउने उद्देश्यले गरिएको करिब एक हप्ता लामो हवाई हमलाको शृंखलालाई उत्कर्षमा पुर्याएको छ ।
यस अभियानको पछिल्लो विस्तार मुख्य बन्दरगाह शहर बन्दर अब्बासलाई इस्लामिक गणतन्त्रको मुटुबाट अलग गर्ने उद्देश्यले गरिएको देखिएको छ । तेहरानले मध्यपूर्वमा रहेका अमेरिकी सहयोगीहरूमाथि नयाँ आक्रमणहरू गर्दै जवाफ दिएको छ जसमा सिरियामा गरिएको पहिलो प्रत्यक्ष आक्रमण पनि समावेश छ ।
युद्धविराम र अन्तरिम सम्झौता भंग भएपछि यस क्षेत्रमा दिनहुँ आक्रमण र प्रत्याक्रमणका घटनाहरू भइरहेका छन् । दुई पक्षबीच जलयोजकको नियन्त्रणलाई लेकर भइरहेको लडाइँका कारण महत्त्वपूर्ण जलमार्गमा यातायात पुनः ठप्प भएको छ । विश्वव्यापी अर्थतन्त्रमा परिरहेको गम्भीर असरका बावजुद राष्ट्रपति डोनल्ड ट्रम्पले मध्यावधि निर्वाचनअघि अमेरिकी जनतालाई सम्बोधन गर्दै युद्ध राम्रोसँग अगाडि बढिरहेको दाबी गरेका छन् ।
उनले भने, ‘हामी इरानमा पनि ठूलो जीत हासिल गर्दैछौं र तपाईंले त्यसको फल निकै चाँडै देख्नुहुनेछ ।’
अमेरिकाको सैन्य कमान्ड (सेन्टकम) ले बिहीबार ढिलो गरी दिएको जानकारी अनुसार, लगातार छैटौं रातको आक्रमणमा अमेरिकी सेनाले इरानको सैन्य बन्दोबस्ती पूर्वाधार र समुद्री क्षमतालाई निशाना बनाएको छ ।
इरानी अधिकारीहरू र सरकारी सञ्चारमाध्यमहरूले भने यी आक्रमणहरूले नागरिक पूर्वाधारमा क्षति पुर्याएको बताएका छन् । इरानी सरकारी समाचार एजेन्सी इर्नाका अनुसार, यी आक्रमणहरूमा कम्तीमा ८ जनाको मृत्यु भएको छ र २० जना घाइते भएका छन् ।
शुक्रबार बिहानसम्म कम्तीमा ६ वटा पुलहरूमा प्रहार गरिएको र त्यसमा एउटा निर्माणाधीन पुल पनि रहेको इर्नाले जनाएको छ ।
सरकारी स्वामित्वको आईआरआईबी समाचार एजेन्सीका अनुसार, रुस र चीनसँग सम्पर्कका लागि महत्त्वपूर्ण बन्दर अब्बासको ठीक पश्चिममा रहेको रेलवे जक्सन स्टेशनमा पनि प्रहार गरिएको छ । राजमार्ग र रेलवे पुलहरूमा गरिएको यो आक्रमण इरानको मुख्य बन्दरगाह बन्दर अब्बासलाई राजधानी तेहरान जोड्ने सडकहरूबाट अलग गर्ने उद्देश्यले गरिएको देखिन्छ ।
अन्य मार्गहरू अझै खुला भए तापनि अमेरिकी आक्रमणहरू थप विस्तार हुन सक्छन् जसले इरानका ९ करोड जनताका लागि आवश्यक सैन्य सामग्री र दैनिक उपभोग्य वस्तुहरूको ढुवानीमा अवरोध पुर्याउन सक्छ ।
इरानले शुक्रबार पहिलोपटक अमेरिकी हवाई हमलाका क्रममा विद्युतीय पूर्वाधारमा आक्रमण भएको स्वीकार गरेको छ । सरकारी समाचार एजेन्सी इस्नाका अनुसार, ऊर्जा मन्त्रालयले दक्षिणी प्रान्तका मानिसहरूलाई कम बिजुली प्रयोग गर्न आग्रह गरेको छ ।
पछिल्लो अमेरिकी आक्रमणले ओमानको खाडीमा रहेको चाबहारस्थित समुद्री नियन्त्रण टावरमा पनि क्षति पुर्याएको छ जुन हर्मुज जलयोजकभन्दा बाहिर भए तापनि भारतसँग मिलेर सञ्चालन गरिएको एक प्रमुख बन्दरगाह हो । अमेरिकाका रक्षामन्त्री पिट हेगसेथले बिहीबार ढिलो गरी एक्समा एउटा तस्विर पोस्ट गरेका थिए जसमा धूवाँको मुस्लोबीच टावर भत्किरहेको देखिन्छ ।
पछिल्ला दिनहरूमा तेस्रोपटक भएको टावरमाथिको आक्रमणले बन्दरगाह सञ्चालनमा असर पार्न सक्ने मेहर समाचार एजेन्सीले जनाएको छ । हर्मुज जलयोजकलाई लिएर गत साता तनाव बढेपछि र अमेरिकाले पुनः जलसैनिक नाकाबन्दी लगाएपछि ट्रम्पले इरानी पूर्वाधारलाई निशाना बनाउने धम्की दिएका थिए ।
इरानको रिभोलुसनरी गार्डले शुक्रबार जोर्डन, कुवेत र कतार लगायतका छिमेकी देशहरूमा रहेका धेरै अमेरिकी सैन्य अड्डाहरूमा क्षेप्यास्त्र र ड्रोन प्रहार गरेर जवाफ दिएको बताएको छ । कतारले यस द्वन्द्वमा मुख्य मध्यस्थकर्ताको भूमिका खेल्दै आएको छ ।
कतारमा आक्रमण रोक्ने अपरेशनका क्रममा झरेको क्षेप्यास्त्रको टुक्राबाट एक बालक घाइते भएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । बहराइनमा हवाई खतराको साइरन बजाइएको थियो जहाँ अधिकारीहरूले शुक्रबार बिहान नागरिकहरूलाई सुरक्षित स्थानमा जान सल्लाह दिएका थिए ।
रिभोलुसनरी गार्डले कुवेतमा रहेका रेडार सुविधाहरू र दुईवटा हाइमार्स क्षेप्यास्त्र प्रक्षेपण प्लेटफर्महरू र जोर्डनमा अमेरिकी लडाकु विमान र इन्धन भर्ने विमानहरूलाई निशाना बनाएको बताएको छ । उसले सिरियाको अल–तन्फ बेसलाई पनि निशाना बनाएको र त्यहाँ अमेरिकी विशेष अपरेशन कमान्ड सेन्टर रहेको दाबी गरेको छ ।
अमेरिकी सेनाले फेब्रुअरीमा उक्त बेस सिरियाली सेनालाई हस्तान्तरण गरेको घोषणा गरेको थियो । हर्मुज जलयोजकमा भएको यस तनावले जलमार्ग भएर हुने जहाजको आवागमन ठप्प भएको छ जहाँबाट युद्धअघि विश्वको पाँचौं हिस्सा तेल ढुवानी हुने गर्थ्यो । केप्लरका अनुसार, युद्धविरामका क्रममा बढेको यातायात घटेर यस हप्ता दैनिक करिब एक दर्जन जहाजमा सीमित भएको छ ।
तेहरानले जहाजहरू आफ्नो तट नजिकको मार्गबाट हिँडून् र ट्रान्जिट शुल्क तिरून् भन्ने चाहन्छ । त्यसैले उसले सम्पूर्ण जलमार्ग बन्द भएको घोषणा गरेको छ । यो व्यापारिक मार्गमा तेहरानको पकड कम गर्न अमेरिकाले जहाजहरूलाई ओमानको नजिकबाट जान प्रोत्साहित गरिरहेको थियो र उसले फेरि जलसैनिक नाकाबन्दी लगाएको छ ।
तेहरानका चोकहरूमा अमेरिका विरोधी पोस्टरहरू झुण्ड्याइएका छन् । बिहीबार तेहरानमा राष्ट्रपति ट्रम्प, उनका कर्मचारी र परिवारका सदस्यहरूका छविहरू भएका र अमेरिकी झण्डाले ओढाइएका कफिनहरू माथि फारसी भाषामा रगतको बदला रगत लेखिएको ब्यानर देखिएको छ ।
मेहर समाचार एजेन्सीका अनुसार आईआरजीसीले भनेको छ, ‘जबसम्म अमेरिकी अत्याचार जारी रहन्छ, यस क्षेत्रबाट तेल र ग्यासको एक थोपा पनि निर्यात हुने छैन ।’
यी आक्रमणका बावजुद पनि वाशिङटन र तेहरानबीच सञ्चारका माध्यमहरू अझै खुला रहेको देखिन्छ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले बिहीबार पत्रकारहरूलाई भनिन् कि इरान हामीसँग सम्झौता गर्न चाहन्छ र हर्मुज जलयोजकमा इरानले व्यापारिक जहाजहरूमाथि गोली चलाएका कारण अमेरिकाले जवाफमा यी आक्रमणहरू गरेको हो ।
ट्रम्पले सन् २०२४ देखि कैदमा रहेकी एक अमेरिकी नागरिकलाई इरानले रिहा गरेकोमा सद्भावनाको रूपमा प्रशंसा गरेका छन् । ह्वाइट हाउसका एक अधिकारीले बिहीबार एनबीसी न्यूजलाई बताए अनुसार, कैदी डेना करारी अहिले इरानभन्दा बाहिर सुरक्षित छिन् र आगामी केही दिनमा स्वदेश फर्किनेछिन् ।





प्रतिक्रिया