मोन्टेनेग्रोको चराको आश्रय संकटमा


मोन्टेनेग्रोको उल्सिन्ज सेलिना क्षेत्रमा रहेको भूमध्यसागरकै ठूलो नुन उत्पादन क्षेत्र संरक्षण अभावका कारण तीव्र रूपमा नष्ट हुँदै गएको भन्दै वातावरणविद्हरूले तत्काल पुनःस्थापनाको माग गरेका छन् । उनीहरूका अनुसार समयमै आवश्यक कदम नचालिए युरोपका लागि अत्यन्त महत्त्वपूर्ण प्रवासी चराको प्रमुख विश्रामस्थल गुम्ने जोखिम बढेको छ ।

हरेक वर्ष हजारौँ फ्लेमिङ्गो, पेलिकन तथा अन्य प्रवासी चरा अफ्रिका र युरोपबीचको बसाइँसराइका क्रममा उल्सिन्ज सेलिनामा विश्राम गर्छन् । तर सन् २०१३ मा नुन उत्पादन बन्द भएपछि नुनिलो पानीको व्यवस्थापन रोकिँदा चराहरूको प्राकृतिक बासस्थान क्रमशः बिग्रँदै गएको वातावरणविद्हरूले बताएका छन् ।

वातावरण अभियन्ता जेनेपा लिकाले अहिलेको अवस्थालाई तत्काल सुधार नगरे केही वर्षमै यस क्षेत्रको मौलिक स्वरूप हराउन सक्ने चेतावनी दिए । उनका अनुसार नुन उत्पादन बन्द भएसँगै जलाशयको नियमित व्यवस्थापन रोकिएकाले जैविक विविधता निरन्तर घटिरहेको छ ।

उल्सिन्जमा करिब एक शताब्दीअघि नुन उत्पादन सुरु भएको थियो । नुनिलो पानी पम्प गरेर सञ्चालन गरिने कृत्रिम जलाशयले नुन उत्पादनसँगै प्रवासी चराका लागि उपयुक्त वातावरण पनि सिर्जना गरेको थियो । यही कारण यो क्षेत्र युरोपका प्रमुख चराको बसाइँसराइ मार्गमध्ये एकको महत्त्वपूर्ण विश्रामस्थलका रूपमा विकसित भएको थियो ।

विज्ञहरूका अनुसार सेलिनाले कम्तीमा सात प्रजातिका चराको विश्वव्यापी जनसङ्ख्याको एक प्रतिशतभन्दा बढी हिस्सा आश्रय दिने भएकाले यसको अन्तर्राष्ट्रिय संरक्षण महत्त्व छ । सन् २०१९ मा यस क्षेत्रलाई रामसर महासन्धिअन्तर्गत अन्तर्राष्ट्रिय महत्त्वको सिमसार क्षेत्रका रूपमा सूचीकृत गरिएको थियो । तर कानूनी मान्यता पाए पनि संरक्षणका लागि आवश्यक व्यवस्थापन प्रभावकारी रूपमा हुन नसकेको वातावरणविद्हरूको भनाइ छ ।

स्थानीय बासिन्दाका लागि नुन उद्योग रोजगारी, पहिचान र गर्वको विषय पनि थियो । तर कम्पनी आर्थिक सङ्कटमा परेर बन्द भएपछि विशाल नुन गोदाम, जलाशय र अन्य संरचना जीर्ण बनेका छन् । पूर्व नुन उद्योगका कर्मचारीहरूले संरक्षणसँगै नुन उत्पादन पुनः सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन् ।

यसै वर्ष मोन्टेनेग्रो सरकार र उल्सिन्ज नगरपालिकाले करिब ४० लाख युरोको संयुक्त लगानीमा क्षेत्रलाई प्रकृति आरक्षका रूपमा सञ्चालन गर्दै नुन उत्पादन पुनः सुरु गर्ने योजना सार्वजनिक गरेका छन् । युरोपेली सङ्घ (इयु) को सदस्यता प्रक्रियासँग सम्बन्धित वातावरणीय मापदण्ड पूरा गर्न पनि यो परियोजनालाई महत्त्वपूर्ण मानिएको छ ।

तर स्थानीय पत्रकार मुस्तफा कान्काले प्रस्तावित बजेट पर्याप्त नहुने बताउँदै नुन उद्योग पुनः सञ्चालन र सम्पूर्ण क्षेत्रको पुनःस्थापनाका लागि यसभन्दा धेरै लगानी आवश्यक पर्ने धारणा राखे । उनले समस्या समाधानका लागि आवश्यक अध्ययन भइसकेकाले अब निर्णय कार्यान्वयनमा केन्द्रित हुनुपर्ने बताए ।

उनका अनुसार लामो समयदेखि भइरहेको ढिलाइका कारण नुन उद्योग सञ्चालनको अनुभव भएका अधिकांश दक्ष जनशक्ति अवकाश लिइसकेका वा निधन भइसकेका छन् । त्यसैले उनीहरूको ज्ञान र अनुभव उपयोग गर्दै पुनःस्थापना प्रक्रिया तत्काल अघि बढाउनुपर्ने आवश्यकता रहेको उनले औँल्याए ।

एएफपीले यस विषयमा स्थानीय तथा केन्द्रीय सरकारसँग प्रतिक्रिया मागे पनि कुनै जवाफ प्राप्त भएको छैन ।

वातावरण अभियन्ता लिकाले उल्सिन्ज सेलिनालाई चराहरूका लागि ‘हिथ्रो विमानस्थल’ सरहको विश्रामस्थलको संज्ञा दिँदै समयमै संरक्षण र पुनःस्थापना गर्न नसके युरोपकै एक महत्त्वपूर्ण प्राकृतिक सम्पदा गुम्ने चेतावनी दिए ।