
काठमाडौं । कृषि विकास बैंक लिमिटेडबाट प्रकाशित हुने समष्टि साहित्यिक पत्रिका १२१ औं अङ्कको एक समारोहका बीच विमोचन गरिएको छ ।
२१३ औं भानु जयन्तीको अवसर पारी बैंकको मुख्य कार्यालयको सभाहलमा आयोजना गरिएको कार्यक्रमको प्रमुख आतिथ्यता बैंक सञ्चालक समितिका अध्यक्ष टंकप्रसाद पाण्डेयले गरेका थिए भने कार्यक्रम बैंक सञ्चालक समिति सदस्य सञ्जीव पौडेलको अध्यक्षता सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पाण्डेयले जोड घटाउ, नाफा नोक्सानका हिसाब गर्ने बैंकले पनि लामो समयदेखि साहित्यको सेवा गरेकोमा बैंक व्यवस्थापनको प्रशंसा गर्दै यसलाई जीवन्त राख्नुपर्ने कुरामा जोड दिए ।
समष्टि साहित्यिक पत्रिकाका संरक्षक एवम् बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले यो पत्रिकाको गर्विलो इतिहास रहेको धारणा राख्दै हाल अर्धवार्षिक रुपमा प्रकाशन भइरहेको समष्टिलाई आगामी आर्थिक वर्ष २०८३/०८४ देखि चौमासिक रुपमा प्रकाशन गरिने र आगामी वर्षहरुमा क्रमशः त्रैमासिक हुँदै मासिक बनाउने विचार व्यक्त गरे । सम्पादन समूहका अध्यक्ष एवम् बैंकका उपमहाप्रबन्धक प्रताप सुबेदीले उपस्थित सम्पूर्ण अतिथिहरुलाई शब्दद्वारा स्वागत गर्दै समष्टिको गर्विलो इतिहास बारे जानकारी दिए ।
कार्यक्रममा विशेष अतिथिको रुपमा कवि एवम् समष्टिका पूर्वसम्पादक शैलेन्द्र साकारले तत्कालीन समयमा समष्टि प्रकाशनको सुरुवातमा भएको मिहिनेत र संघर्षको स्मरण गरेका थिए ।
अर्का विशेष अतिथि एवम् समष्टिका पूर्व सम्पादक अनिल पौडेलले समष्टि राष्ट्रिय स्तरको पत्रिका भएको र नेपाली साहित्याकाशमा यसको छवि र स्तर उच्च भएकोले यसलाई अझै स्तरीय बनाउँदै लानुपर्नेमा जोड दिए ।






प्रतिक्रिया