
काठमाडौं । नेपालका टेलिकम कम्पनीहरूले थ्रीजी विस्थापित गर्ने कार्ययोजना धमाधम अगाडि ल्याउँदा अझै टुजीका ग्राहक भने २४ लाख ३५ हजार छन् । नेपाल दूरसञ्चार प्राधिकरणले असारमा सार्वजनिक गरेको जेठसम्मको तथ्याङ्कअनुसार टेलिकम कम्पनीहरूले थ्रीजीलाई विस्थापित गरेर फोरजीकै प्रविधि भित्र्याउने र मोबाइल डेटाको लागि ग्राहकलाई फोरजीमै अभ्यस्त बनाउने सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् ।
फाइभजी चल्ने स्मार्टफोनको जमानामा अझै ८ प्रतिशत प्रयोगकर्ता भ्वाइसमा मात्रै सीमित भएका छन् । टेलिकम कम्पनीहरूले भने टुजीका ग्राहकलाई समेत प्रविधितर्फ केन्द्रित गर्दै पुरानो सेवालाई बिस्तारै बन्द गर्न लागेका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार टेक्नोलोजी युजका आधारमा ब्रोडब्यान्ड सर्भिसअन्तर्गत देशैभरि ९२ प्रतिशत फोरजी प्रयोगकर्ता पुगेका छन् । हालसम्म २ करोड ८६ लाखले फोरजी प्रयोग गरिरहेका छन् । योबाहेक २ प्रतिशत अर्थात् ७ लाख ५७ हजारले मात्रै थ्रीजी प्रयोग गरेका छन् भने ८.३५ प्रतिशत उपभोक्ताले भने अझै टुजी प्रयोग गरिरहेका छन् ।
टेलिकम कम्पनीहरूलाई धमाधम थ्रीजी बन्द गरेर फोरजीमा सेवा दिइरहेको बेला ठूलो सङ्ख्यामा अझै टुजीमै सेवा दिनुले दूरसञ्चारमा नयाँ प्रविधिलाई आत्मसात् गर्नेसँगै पुरानै प्रविधिमा रहिरहेका ग्राहकसमेत उल्लेख्य देखिन्छन् ।
थ्रीजी प्रविधि अहिलेको आवश्यकताअनुसार कम प्रभावकारी बन्दै गएको दूरसञ्चार क्षेत्रका सरोकारवालाको भनाइ छ । फोरजीको तुलनामा थ्रीजीले कम ब्यान्डविथ उपलब्ध गराउने तथा डेटा र भ्वाइस सेवाको गुणस्तर पनि सीमित रहने भएकाले अधिकांश सेवा प्रदायक कम्पनीहरू थ्रीजीको तुलनामा फोरजी नेटवर्कमा केन्द्रित हुँदै गएको पनि टेलिकम कम्पनीले जानकारी दिएका छन् ।
विश्वका अधिकांश देशमा टेलिकम सेवाप्रदायकले थ्रीजी सेवा हटाउँदै लगेका छन् । नेपाल टेलिकमले आगामी आर्थिक वर्ष २०८३/८४ मा थ्रीजी सेवालाई पूर्ण रूपमा हटाउने तयारीका साथ कार्ययोजना बनाइरहेको जानकारी दिएको छ ।
टेलिकमले थ्रीजी सेवा प्रवाह गरिरहेका तीन हजारभन्दा बढी बीटीएस टावरलाई फोरजी सञ्चालन योग्य बनाउने कार्य गरिरहेको छ । स्तरोन्नति हुन नसक्ने बीटीएसलाई भने हटाउने तयारीमा सेवाप्रदायक छन् ।
टेलिकम कम्पनीहरूले थ्रीजी सेवा हटाएपछि ग्राहकहरू फोरजी सेवामा जान सक्छन् । भ्वाइसका लागि मात्रै टुजी सेवा पर्याप्त हुन्छ भने डेटा र भ्वाइस दुवैका लागि हो भने ग्राहक फोरजीको भीओएलटीई सेवामा जान सक्ने उल्लेख गरेका छन् ।
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले यही असार २२ गते सोमबारदेखि पाँच प्रदेशका १३ जिल्लाका विभिन्न स्थानीय तहमा रहेका २२० भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गरिएको जानकारी दिएको छ ।
त्यसो त नेपाल टेलिकमले भने २ वर्षअगाडि नै टुजी सेवा बन्द गर्ने घोषणा गरेको थियो । टेलिकमले भ्वाइस सेवाको लागि मात्रै उपयोग हुँदै आएको यो प्रविधिलाई फोरजी सेवामा स्तरोन्नति हुन पनि सेवाप्रदायकले सार्वजनिक सूचनामार्फत नै आग्रह गरेका छन् ।






प्रतिक्रिया