
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गर्न लागिएको बताएका छन् । बुधवार अर्थ समितिको बैठकमा उनले बजार बढ्दा मात्र नभई घट्दा पनि लगानीकर्ताले प्रतिफल लिनसक्ने व्यवस्था ल्याउन यस्तो प्रणाली लागू गर्न लागिएको बताएका हुन् ।
अध्यक्ष भट्टले नेपालमा सेयर बजार सधैं बढिरहनुपर्छ भन्ने मान्यता रहेको उल्लेख गर्दै कुनैपनि देशको पुँजीबजार निरन्तर उकालो मात्रै लाग्न नसक्ने स्पष्ट पारे । बजार घट्दा धितोपत्र बोर्डमाथि अनावश्यक दबाब दिने गरिएको उनको गुनासो छ ।
उनले बोर्डको भूमिका बजारको दिशा निर्धारण गर्नु नभई निष्पक्ष ‘प्लेइङ फिल्ड’ उपलब्ध गराउनु मात्रै रहेको बताए । उनका अनुसार सर्ट सेलिङ प्रणाली लागू गरेपछि बजार घट्दा हाल आन्दोलनमा उत्रिने समस्याको अन्त्य हुनेछ । यो प्रणाली लागू भएपछि बजार घट्ने अनुमान गर्ने लगानीकर्ताले सेयर सापटी लिएर बिक्री गर्न सक्नेछन् भने मूल्य घटेपछि सोही सेयर किनेर फिर्ता गर्दा मूल्य अन्तरबाट प्रतिफल लिन सकिने व्यवस्था हुनेछ । बजार बढ्ने अपेक्षा गर्ने लगानीकर्ताले भने अहिलेझैं सेयर किनेर मूल्य बढेपछि बिक्री गरी नाफा लिन सक्नेछन् ।
अध्यक्ष भट्टले यस व्यवस्थापछि बजार बढ्नैपर्ने भन्ने एकतर्फी मनोविज्ञान परिवर्तन हुने र लगानीकर्ताले आफ्नै अध्ययन तथा विश्लेषणका आधारमा निर्णय गर्ने वातावरण बन्ने दाबी गरे । उनले धितोपत्र बोर्डको जिम्मेवारी बजारमा नियम, नियमन र समान अवसर सुनिश्चित गर्नु मात्र भएको उल्लेख गर्दै लगानी निर्णय पूर्ण रूपमा लगानीकर्ताको विवेकमा निर्भर रहने बताए ।
उनले भने, ‘अहिले हाम्रो बजारको नेचर के छ भने बजार घट्यो भने सबै चिन्तित हुन्छन्, बजार बढ्यो भने सबै खुसी हुन्छन् । बजार जहिले पनि बढिरहनु पर्छ भन्ने मान्यता छ । संसारको कुनै पनि इन्डेक्सहरू बढेको बढ्यै गर्नेवाला छैनन् । तर नेपालमा ५ हजारमा पुगेर पनि यदि घट्यो भने धितोपत्र बोर्ड घेराउ नै हुनेवाला छ । अब हामीले बजार जताततै जाओस् तर इन्भेस्टरहरूले रिटर्न लिने मेकानिजम बनाउँदैछौँ । त्यो भनेको बजार तल गयो भने पनि रिटर्न आउँछ, बजार माथि गयो भने पनि रिटर्न आउँछ ।’
अध्यक्ष भट्टले बजारमा फैलिने अफवाह नियन्त्रण गर्न आवश्यक नीतिगत व्यवस्था ल्याउन लागिएको पनि जानकारी दिए । सम्पत्ति छानबिन, निरीक्षण तथा वित्तीय अपराध नियन्त्रणसम्बन्धी विषयमा धितोपत्र बोर्डले सम्बन्धित सरकारी निकायसँग समन्वय गरेर काम गर्ने उनले बताए । उनले नेपालको पुँजीबजार सुधारको लागि बोर्डले हालै ‘नेपालको पुँजी बजार विकास मार्गचित्र, २०८३’ र आगामी आर्थिक वर्षको नीति सार्वजनिक गरिएको समेत जानकारी दिए ।






प्रतिक्रिया