प्रतिनिधि सभा बैठक आज, यस्तो छ सम्भावित कार्यसूची

189
Shares

काठमाडौं । मंगलबार बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दै छ ।

आज बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन सदनमा पेस गर्नेछिन् । साथै, उनले नै लोकसेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन (२०८१ साउन – २०८२ असार) पनि सदनसमक्ष प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

व्यवस्थापन कार्यतर्फ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने र सोही विधेयक सदनमा प्रस्तुत गर्नेछन् ।

यसैगरी, कानुनमन्त्री गौतमले नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ र राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

आजकै बैठकमा अन्तर्राष्ट्रिय सन्धि र महासन्धिमाथि छलफल तथा अनुमोदनको प्रक्रिया अगाडि बढाइनेछ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल र श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ माथि सदनमा सामान्य छलफल गरी अनुमोदनका लागि प्रस्ताव प्रस्तुत गर्नेछन् ।

Skip This