
काठमाडौं । सोना प्याकेजिङ इन्डष्ट्रिजले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा करिब २ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले चालु आवको ९ महिनाको अवधिमा १ अर्ब ८९ करोड ३० लाख रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले गत आवमा २ अर्ब ७ करोड २० लाख रुपैयाँ, सन् २०२४ मा १ अर्ब ७३ करोड रुपैयाँ र सन् २०२३ मा १ अर्ब ७४ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो ।
कम्पनीको कारोबार गत आवमा २० प्रतिशतल वृद्धि भएको थियो । कम्पनीले आफ्नो क्षमता विस्तार र विविधिकरण गरेसँगै कारोबार बढेको जनाएको छ । कम्पनीले इएक्सटी लेमिनेट रोल सामग्रीको उत्पादन सुरु गरेसँगै उच्च कारोबार हुँदा व्यापार सकारामत्मक रहेको छ । गत आवमा कारोबार गरेकोमध्ये ३१ प्रतिशत हिस्सा उक्त रोलबाट भएको उल्लेख छ ।
चालु आवको ९ महिनाको अवधिमा ४० प्रतिशत कारोबार सोही रोलबाट भएको छ ।्कम्पनीले गत आवमा ९.७५ प्रतिशत नाफा मार्जिन गरेको थियो । चालु आवको ९ महिनाको अवधिमा १०.४६ प्रतिशत नाफा मार्जिन गरेको छ । कम्पनीको कुल नगद सञ्चयमा पनि सुधार आएको छ । सन् २०२२ मा ८ करोड ७० लाख रुपैयाँ रहेकोमा गत आवमा १४ करोड ६० लाख रुपैयाँ पुगेको छ ।
कम्पनीले आफ्नो क्षमता वृद्धि र चालु पुँजी आवश्यकताहरु पूरा गर्न ऋण बढाइएको थियो । कम्पनीको वित्तीय लाभांस सूचकहरु अझै सहज अवस्थामा रहेका छन् । कम्पनीको कुल गियरिङ अनुपात मध्यम स्तरमै रहेको छ । सन् २०२४ मा ०.७३ गुणा रहेको कुल गियरिङ अनुपात गत आवमा बढेर ०.८३ गुणा पुगेको छ । साथै, चालु आवमा थप बढेर १.१४ गुणा पुगेको छ ।
कम्पनीको ट्यान्जिबल नेटवर्थ गत आवमा बढेर ५० करोड ७० लाख रुपैयाँ पुगेको थियो । सन् २०२४ मा ४२ करोड ६० लाख रुपैयाँ थियो । तर, चालु आवको ९ महिनाको अवधिमा कम्पनीले १० करोड रुपैयाँ लाभांश वितरण गरिएकाले केही घटेर ५० करोड रुपैयाँमा सिमित भएको छ ।
कम्पनीको ब्याज भुक्तानी क्षमता गत आवमा ६.४२ गुणा थियो । चालु आवको ९ महिनाको अवधिमा थप सुधार भई ८.९८ गुणा पुगेको छ ।
सन् २००७ मा स्थापना भएको कम्पनीले फ्लेक्जिबल र्यापर र प्याकेजिङ सामग्री उत्पादन गर्दै आएको छ । मासिक ९ सय मेट्रिक टन क्षमता भएको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९८ करोड ६३ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ८ करोड ६३ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ९० करोड रुपैयाँको रेटिङ गराएको हो । कम्पनीको अध्यक्ष चुन्नाप्रसाद शर्मा हुन् ।






प्रतिक्रिया