इन्धनको मूल्य घटेसँगै वस्तु तथा सेवाको मूल्य घटाउन सरकारको आग्रह


काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले इन्धनको मूल्यमा आएको गिरावटसँगै बजारमा दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य पनि घटाउन व्यवसायीहरूलाई आग्रह गरेको छ।

विभागले विज्ञप्ति जारी गर्दै मध्यपूर्वमा देखिएको संकट सामान्य हुँदै गएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेको सन्दर्भमा यस्तो आग्रह गरेको हो। निगमले गत असार १६ गते मंगलबारदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको थियो।

इन्धनको मूल्य घट्दा ढुवानी भाडा र उत्पादन लागतमा कमी आउने भएकाले त्यसको प्रत्यक्ष लाभ उपभोक्तालाई दिन विभागले निर्देशन दिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘आम सर्वसाधारणको जनजीवन सहज बनाउन अत्यावश्यक खाद्य पदार्थ लगायतका सबै वस्तु तथा सेवा सुपथ मूल्यमा उपलब्ध गराउन सम्बन्धित सबै विक्रेताहरूलाई अनुरोध गरिन्छ।’

विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३ बमोजिम उपभोक्ताको अधिकार संरक्षण गर्नु सबै सरोकारवालाहरूको सामूहिक जिम्मेवारी भएको स्पष्ट पारेको छ।

यस प्रक्रियामा विक्रेता, ढुवानीकर्ता, उद्योगी, व्यवसायीका छाता संगठनहरू तथा वस्तुगत संघसंस्थाहरूलाई जिम्मेवार र सचेत रहन विभागले अपिल गरेको छ।

साथै, बजारमा मूल्य समायोजन भए-नभएको बारे अनुगमनलाई तीव्र पारिने र उपभोक्ताको हकहित विपरीत कार्य गर्नेलाई कानुन बमोजिम कारबाही गरिने संकेत समेत विभागले दिएको छ।