यातायात क्षेत्रका समस्या समाधान गर्न बागमती प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री बानियाँ


हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशभित्र रहेका सार्वजनिक यातायातका बहुआयामिक समस्याहरू समाधान गर्न प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष सरोज सिटौलासँगको भेटमा मुख्यमन्त्री बानियाँले उक्त कुरा बताएका छन् ।

भेटका क्रममा अध्यक्ष सिटौलाले बागमती प्रदेश, विशेष गरी काठमाडौँ उपत्यकामा सार्वजनिक यातायातको ट्राफिक समस्या, सडक दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई दिइने क्षतिपूर्ति र घाइतेहरूको उपचारमा देखिएका जटिलताहरू समाधानका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए ।

व्यवसायीको आग्रहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले ट्राफिक व्यवस्थापन, मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको प्रभावकारी उपचारका लागि व्यवसायीसँग मिलेर अघि बढ्न सरकार तयार रहेको स्पष्ट पारे ।

अध्यक्ष सिटौलाले हाल घाइतेहरूको महँगो निजी अस्पतालमा उपचार गराउनुपर्ने बाध्यता रहेको र बीमाबाट मात्र ३ लाख रुपैयाँ क्षतिपूर्ति पाउँदा व्यवसायी मारमा परेको गुनासो गरे । उक्त गुनासोको जवाफ दिँदै मुख्यमन्त्री बानियाँले प्रदेश सरकार मातहतका अस्पतालहरूमा ‘ट्रमा सेन्टर’ विकास गर्ने योजना सुनाए ।

उनले दुर्घटनाका घाइतेहरूको उपचार सुरुमा सरकारी अस्पतालमा मात्र गर्ने प्रबन्ध मिलाउन आवश्यक कानुनी व्यवस्थाका लागि आफू लाग्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

बागमती प्रदेशमा मुलुककै ६० प्रतिशतभन्दा बढी सवारी साधनको भार रहेको उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले यहाँका यातायात समस्या समाधान गर्नु चुनौतीपूर्ण भए पनि आफू यसलाई व्यवस्थित गर्न लागिपर्ने बर्ताए । राजधानी समेत रहेको प्रदेश भएकाले यहाँको यातायात क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउनु सरकारको प्राथमिकता रहेको उनको भनाइ थियो ।