प्रविधिमा चीनको नयाँ फड्को, अमेरिकी प्रतिबन्ध पूरै असफल


काठमाडौं । गत साता चीनबाट आएको समाचारले विश्वको प्रविधि बजार र भूराजनीतिक सन्तुलनलाई नै हल्लाइदिएको छ ।

बेइजिङ विश्वविद्यालयका अनुसन्धाताहरूको एक टोलीले मानव मस्तिष्कको जटिल र घुमाउरो सतहको नक्सांकन जम्मा आधा सेकेन्डमा गर्न सक्ने क्षमता भएको चिप सार्वजनिक गरेको छ । यो चिप विश्वको सबैभन्दा शक्तिशाली मानिने एनभिडियाको प्रचलित चिपभन्दा ४७८ गुणा तीव्र गतिमा काम गर्न सक्षम छ ।

चीनले नयाँ प्रविधिमा लगातार चमत्कार गरिरहेकाले गर्दा धेरैले यसलाई सामान्य समाचारका रूपमा लिए । अझ कतिपयले यसलाई बढाइचढाइ गरिएको दाबी भन्दै बेवास्ता गरे । तर, यसलाई गहिरिएर विश्लेषण गर्ने हो भने यो एउटा चिपको कथा मात्र होइन । यो त चार वर्षअघि अमेरिकाले चीनविरुद्ध चालेको कठोर कदम र त्यसको अनपेक्षित परिणामको जीवन्त गाथा हो ।

यस घटनाको जरोलाई बुझ्न अक्टोबर २०२२ मा फर्कनुपर्छ । त्यस समयमा अमेरिकाले चीनको बढ्दो प्रविधि सामर्थ्यलाई रोक्न इतिहासकै सबैभन्दा कठोर प्रविधि प्रतिबन्ध लागू गरेको थियो ।

यस प्रतिबन्ध अन्तर्गत अत्याधुनिक चिपहरू, चिप उत्पादन गर्ने जटिल मशिनरीहरू र ती मशिनहरूमा काम गर्ने अमेरिकी इन्जिनियरहरूलाई समेत चीनमा काम गर्न रोक लगाइएको थियो ।

कृत्रिम बुद्धिमत्ता (एआई) को यस युगमा चिपलाई नयाँ इन्धन मानिन्छ । औद्योगिक युगमा तेलमाथि नियन्त्रण गर्नेले विश्वमा दबदबा राखे जसरी एआईमा प्रभुत्व जमाउनेले नै भविष्यको विश्वमा शासन गर्नेछ ।

एआई सञ्चालनका लागि आवश्यक पर्ने इन्धन भनेकै यस्ता शक्तिशाली चिपहरू हुन् । चीनलाई चिप आपूर्तिमा अवरोध सिर्जना गर्ने अमेरिकाको योजना थियो । त्यसो गर्दा चीनको एआई विकास ठप्प हुन्छ र चीनको विश्वव्यापी उदयमा पूर्णविराम लाग्छ भन्ने अमेरिकाको अपेक्षा थियो ।

तर, अमेरिकाको यस योजनाले एउटा महत्त्वपूर्ण मानवीय र रणनीतिक पक्षलाई नजरअन्दाज गरेको थियो । प्रतिबन्ध लाग्नु अघिसम्म चीनका ठूला प्रविधि कम्पनीहरू एनभिडियाका सबैभन्दा ठूला ग्राहक थिए । चिनियाँहरूका लागि आफ्नै चिप उत्पादन गर्नुभन्दा अमेरिकी चिपहरू किन्नु सस्तो, सजिलो र जोखिममुक्त थियो ।

अमेरिकाको एक हस्ताक्षरले रातारात यो समीकरण उल्ट्याइदियो । खरिद गर्ने बाटो बन्द हुँदा आफैं उत्पादन गर्नु चीनका लागि विकल्प मात्र नभई अस्तित्वको लडाइँ नै बन्यो । यसरी अमेरिकाले नजानिँदो तरिकाले चीनलाई दुईवटा ठूला उपहार दियो ।

आजको संसारमा जति पनि चिपहरू छन्, ती सबै एउटै पुरानो भोन न्यूम्यान आर्किटेक्चरमा आधारित छन् । यसमा तथ्यांक एक ठाउँमा भण्डारण गरिन्छ र गणना अर्को ठाउँमा गरिन्छ । यी दुई बीच डेटा निरन्तर ओहोरदोहोर गरिरहनुपर्छ

पहिलो, सुरक्षित र विशाल आन्तरिक बजार तथा दोस्रो, मर्नु कि बाँच्नुको स्थितिबाट उत्पन्न भएको नवप्रवर्तनको छटपटी ।
चीनले तुरुन्तै दशौं अर्ब डलरको चिप कोष सक्रिय बनायो । हिजोसम्म एनभिडियाको पछि लाग्ने कम्पनीहरू अब स्वदेशी चिपका सुनिश्चित ग्राहकमा परिणत भए । विदेशमा रहेका चिनियाँ वैज्ञानिक र इन्जिनियरहरूलाई राष्ट्रियताको नाममा स्वदेश फिर्ता बोलाइयो ।

यस प्रतिबन्धको पहिलो ठूलो परिणाम जनवरी २०२५ मा देखियो । त्यतिखेर चीनको डीपसीक टोलीले अत्याधुनिक चिपहरूको अभावमा पनि संसारकै उत्कृष्ट एआई मोडल तालिम दिएको घोषणा गर्यो । त्यो घोषणा भएको दिन एनभिडियाको सेयर बजार मूल्य एकै दिनमा करिब ६०० अर्ब डलरले घट्यो । यो कुनै पनि कम्पनीले इतिहासमा एकै दिन बेहोरेको सबैभन्दा ठूलो नोक्सानी थियो ।

डीपसीकले सफ्टवेयरको माध्यमबाट अमेरिकाको प्रतिबन्धलाई चुनौती दिएको थियो भने अहिले बेइजिङ विश्वविद्यालयको टोलीले हार्डवेयरकै माध्यमबाट यसलाई प्रतिबन्धको विफलतालाई प्रमाणित गरिदिएको छ । यो नयाँ चिपको कार्यशैली आजको प्रचलित चिपभन्दा पूर्णतया फरक छ र यसले कम्प्युटिङको दुनियाँमा नयाँ बहस सिर्जना गरेको छ ।

आजको संसारमा जति पनि चिपहरू छन्, ती सबै एउटै पुरानो भोन न्यूम्यान आर्किटेक्चरमा आधारित छन् । यसमा तथ्यांक एक ठाउँमा भण्डारण गरिन्छ र गणना अर्को ठाउँमा गरिन्छ । यी दुई बीच डेटा निरन्तर ओहोरदोहोर गरिरहनुपर्छ ।

यसलाई एउटा रेस्टुरेन्टको उदाहरणबाट बुझ्न सकिन्छ । मानौं, रेस्टुरेन्टको भण्डार कोठा भवनको एउटा छेउमा छ र भान्सा अर्को छेउमा । खाना बनाउने भान्से जतिसुकै छिटो भए पनि हरेक मसला लिन उसले भण्डारसम्म दौडिनुपर्छ । खाना तयार हुन लाग्ने ढिलाइको कारण भान्सेको गति नभई भण्डार र भान्साबीचको दूरी हो ।

एआई यति महँगो हुनु र यसले अत्यधिक बिजुली खपत गर्नुको मुख्य कारण पनि यही डेटा ओहोरदोहोर गर्ने दूरी नै हो । यस दूरीको यात्रालाई अरूको तुलनामा केही छिटो बनाउनु एनभिडियाको सफलताको रहस्य थियो ।

तर, चिनियाँ टोलीले यस यात्रालाई छिटो बनाउनेतिर समय खर्च गरेन । उनीहरूले सिधै भान्सालाई नै भण्डार कोठाभित्र स्थापना गरिदिए । यस प्रविधिलाई प्रोसेसिङ–इन–मेमोरी भनिन्छ । जहाँ डेटा छ, त्यहीँ गणना गरिन्छ । न त डेटा ओसार्नुपर्ने झन्झट, न त कुनै ढिलाइ, न त बिजुलीको अनावश्यक खपत ।

यस उपलब्धिमा सबैभन्दा आश्चर्यजनक कुरा त के छ भने यो चिप ४० न्यानोमिटर प्रविधिमा आधारित छ । ४० न्यानोमिटर भनेको आजको प्रविधिको तुलनामा १५ वर्ष पुरानो प्रविधि हो । आजको संसार ३ न्यानोमिटर वा ५ न्यानोमिटरको लागि प्रतिस्पर्धा गरिरहेको छ र त्यसका लागि अमेरिकाले चीनमाथि प्रतिबन्ध लगाएको थियो ।

चीनले भने अमेरिकाले प्रतिबन्ध लगाएका कुनै पनि अत्याधुनिक मशिनहरूको प्रयोग नगरी १५ वर्ष पुरानो प्रविधिबाटै एनभिडियाको अत्याधुनिक चिपलाई कैयौं गुणाले उछिनेको छ । यसले के प्रमाणित गर्छ भने प्रविधिमा आधुनिक मशिन हुनु मात्र ठूलो कुरा होइन । सही सोच र संरचनात्मक परिवर्तनले पुरानो प्रविधिबाट पनि चमत्कार गर्न सकिन्छ ।

तर, यसको अर्को पाटोलाई पनि बिर्सन हुँदैन । यो चिनियाँ चिप अहिले एउटा विशेष कार्य (मस्तिष्क नक्सांकन) मा मात्र केन्द्रित छ । सामान्य एआई कार्यहरूका लागि एनभिडिया अझै पनि विश्वको निर्विवाद नेता हो । साथै, यो चिप अहिले प्रयोगशालाको नमूना मात्र हो र यसको व्यावसायिक रूपमा ठूलो उत्पादन सुरु भइसकेको छैन ।

अमेरिकाले चीनको खुट्टा काट्न खोज्दा चीनले उड्न सक्ने क्षमताको विकास गर्न थालेको देखिन्छ । आवश्यकता नै आविष्कारकी जननी हो भन्ने पुरानो उखान नै छ । अमेरिकाले चीनका लागि कठोर आवश्यकता सिर्जना गरिदिएपछि नयाँ मार्गहरू खोज्न बाध्य बनायो

तर, यहाँ प्रश्न यस चिपले एनभिडियालाई व्यापारिक रूपमा पराजित गर्छ कि गर्दैन भन्ने मात्र होइन । मुख्य कुरा त, अमेरिकाको प्रतिबन्ध जुन आधारमा उभिएको थियो त्यो आधार दोस्रोपटक भत्किएको छ । आधुनिक मशिन नभए चीनको प्रविधि मर्नेछ भनी अमेरिकाले ठानेको थियो । तर, चीनले मशिनको अभावलाई नयाँ आविष्कार र पुरानो प्रविधिको सही प्रयोगमार्फत परिपूर्ति गरिरहेको छ ।

त्यसो त एनभिडियाका प्रमुख जेन्सेन ह्वाङले केही महिनाअघि नै चेतावनी दिँदै यी प्रतिबन्धहरूले चीनको प्रविधिलाई रोक्नुको साटो त्यहाँ प्रतिस्पर्धाको आगो झन् बालिदिएको बताएका थिए ।

एआईले संसार बदल्नेछ भन्ने कथामा अहिले अमेरिकाको सेयर बजार टिकेको छ । त्यसका लागि विशाल कम्प्युटिङ शक्ति चाहिन्छ र त्यो शक्तिको साँचो अमेरिकी कम्पनीहरूसँग मात्र रहनेछ भन्ने भाष्य प्रचलित गराइएको छ ।

यसैले गर्दा केही सीमित अमेरिकी कम्पनीहरूको बजार मूल्य खर्बौं डलर पुगेको छ । तर, चीनबाट आइरहेका यस्ता सफलताका खबरहरूले गम्भीर प्रश्नहरू उब्जाएको छ । एआई विकासका लागि सोचिएभन्दा कम चिप, कम पैसा र कम बिजुलीले काम चल्न सक्छ भने के होला ? एआई सञ्चालन गर्न एनभिडियाका महँगा चिपहरू अनिवार्य रहेनन् भने ती कम्पनीहरूको खर्बौं डलरको मूल्यांकन के हुनेछ ?

डीपसीक सार्वजनिक भएको जनवरी २०२५ को घटना एउटा झिल्को मात्र थियो । चीनले सफ्टवेयर र हार्डवेयर दुवैमा यस्ता किफायती र प्रभावकारी विकल्पहरू निरन्तर ल्याइरह्यो भने विश्वको प्रविधि बजारको केन्द्र नै परिवर्तन हुन सक्छ ।

अमेरिकाले चीनको खुट्टा काट्न खोज्दा चीनले उड्न सक्ने क्षमताको विकास गर्न थालेको देखिन्छ । आवश्यकता नै आविष्कारकी जननी हो भन्ने पुरानो उखान नै छ । अमेरिकाले चीनका लागि कठोर आवश्यकता सिर्जना गरिदिएपछि नयाँ मार्गहरू खोज्न बाध्य बनायो ।

१५ वर्ष पुरानो प्रविधि उपयोग गरेर चीनले एनभिडिया जस्तो यस क्षेत्रको दिग्गजलाई चुनौती दिनुले प्रविधिको भविष्य जटिलतामा मात्र नभई दक्षता र सरलतामा पनि छ भन्ने सन्देश दिएको छ । प्रविधिको यस शीतयुद्धमा अब मशिनभन्दा बढी दिमागको लडाइँ सुरु भएको छ ।