टेस्लाले अमेरिकाको मायामीमा थाल्यो रोबोट्याक्सी सेवा


एजेन्सी । टेस्लाले शुक्रबार मायामीमा आफ्नो रोबोट्याक्सी उपलब्ध भएको बताएको छ । यस विद्युतीय सवारीसाधन निर्माताले स्वायत्त राइड–हेलिङ (चालकविहीन ट्याक्सी सेवा) सञ्चालनलाई विस्तार गर्न खोजिरहेको छ ।

यस विस्तारले टेस्लाको आफ्नो सेल्फ–ड्राइभिङ सफ्टवेयरको प्रयोग बढाउने प्रयासलाई झल्काउँछ । यसको एउटा संस्करण यसले रोबोट्याक्सीहरूमा प्रयोग गर्छ । यो सीईओ इलोन मस्कको विद्युतीय सवारी साधनबाट आर्टिफिसियल इन्टेलिजेन्स र रोबोटिक्सतर्फको परिवर्तनको एक प्रमुख हिस्सा हो ।

‘रोबोट्याक्सी अब मायामीमा उपलब्ध छ,’ टेस्लाको आधिकारिक रोबोट्याक्सी खाताले एक्समा पोस्ट गर्दै भनेको छ ।

टेस्लाको यो कदम रोबोट्याक्सी क्षेत्रले गति लिइरहेको समयमा आएको हो । अल्फाबेटको वेमो र अमेजनको जुक्स जस्ता प्रतिस्पर्धीहरूले पनि आफ्नो विस्तारको प्रयासलाई तीव्र पारिरहेका छन् ।

टेस्लाले अप्रिलमा डालास र ह्युस्टनमा सेवा विस्तार गर्ने योजना घोषणा गरेपछि जुन महिनामा टेक्ससको अस्टिनमा आफ्नो अनसुपरभाइज्ड (पर्यवेक्षण बिनाको) रोबोट्याक्सी सेवा सुरु गरेको थियो ।

मस्कले मानवीय सुरक्षा निगरानी बिनाका पूर्ण रूपमा आफैं चल्ने कारहरू यस वर्षको अन्त्यसम्ममा अमेरिकामा अझ बढी व्यापक हुने अपेक्षा गरेको मे महिनामा बताएका थिए ।

बिहीबार टेस्लाले दोस्रो त्रैमासिकमा कीर्तिमान सवारी साधन डेलिभरी गरेको जानकारी दिएको छ । त्यसले युरोपमा भएको सुधारका कारण वाल स्ट्रिटको अनुमानलाई उछिनेको छ ।