आगामी आवको मौद्रिक नीतिमा मौद्रिक औजार मात्रै चलाउने तयारी, बोर्डले गर्‍यो चालु आवको समीक्षा

2.2k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय नीति नचलाई मौद्रिक नीतिका औजारहरु मात्रै परिवर्तन गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा जुटेको छ ।

गत शुक्रबार सरोकारवालासँग छलफल गरेको नेपाल राष्ट्र बैंकले आइतबार बिहानै आगामी सञ्चालक समिति बैठक डाकेर चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गरेको छ ।

मौद्रिक नीतिमा नै नियामकीय नीतिहरुमा परिमार्जन गर्ने घोषण गर्दै आएको केन्द्रीय बैंकले यसपटक भने मौद्रिक नीतिमा मौद्रिक औजारहरुमा मात्रै आवश्यक परिमार्जन गर्ने तयारी गरेको छ।

शुक्रबार सबै सरोकारवालासँग छलफल गरेको केन्द्रीय बैंकले नियामकीय नीतिमा आवश्यका अनुसार जुनसुकै समयमा छलफल र परिमार्जन गर्न सकिने भन्दै मौद्रिक नीतिमाथि मात्रै सुझाव दिन आग्रह गरेको थियो । अन्तरक्रियाको सुरुमै बैंकिङ क्षेत्रको र अर्थतन्त्रको अवस्था र केही चुनौतिहरुमाथि प्रस्तुति दिएका आर्थिक अनुसन्धान विभाग प्रमुख डा. सत्येन्द्र तिमिल्सिनाले नियामकीय नीतिको नभई मौद्रिक नीतिमाथि मात्रै सुझाव पेश गर्न आग्रह गरेका थिए ।

‘मौद्रिक नीतिमाथि मात्रै छलफल केन्द्रित गर्ने उद्देश्य भएपछि छलफलका अधिकांश विषय नियामकीय नीतिमाथि नै केन्द्रित गर्नुपर्ने देखियो । नियामकीय नीतिमा जुनसुकै समयमा छलफल गर्न सकिने भएकोले मौद्रिक नीतिलाई मौद्रिक नीतिजस्तो बनाउनुपर्छ भन्ने हो,’ शुक्रबारको छलफलमा आर्थिक अनुसन्धान विभागको प्रमुख तिम्सिनाले भनेका थिए ।

केन्द्रीय बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा पनि कर्जाको माग र प्रवाहलाई नै बल गर्नेमा केन्द्रित गर्ने संकेत गरेको छ । ‘पछिल्लो एक वर्षमा मौद्रिक नीति तुलनात्मक रूपमा स्थिर रहेको र ब्याजदर २.७५ प्रतिशतको वरिपरि रहँदा तरलताको ठूलो समस्या भोग्नु परेको छैन,’ शुक्रबार सरोबारवालसँगको छलफलमा गभर्नर डा. विश्वनाथ पौडेलले भनेका थिए, ‘तर, कर्जाको माग र प्रवाहलाई कसरी लैजाने भन्ने मुख्य चिन्ताको विषय बनेको छ । बजारमा देखिएको न्यून मुद्रास्फीति वा कतिपय क्षेत्रमा देखिएको डिफ्लेसन (मूल्य गिरावट)ले आर्थिक मन्दीको संकेत गरेको हो । सामानको उचित मूल्य नपाउँदा व्यवसायीहरू समस्यामा परेको र यसले समग्र उत्पादन चक्रमा असर पारेको छ ।’

गभर्नर पौडेलले मौत्र होइन, आर्थिक अनुसन्धान विभाग प्रमुख डा. तिमिल्सिनाले पनि कर्जाको माग र प्रवाह कसरी बढाउने र कर्जालाई कसरी उत्पादनमा लैजाने भन्ने नै मुख्य चुनौति रहेको बताएका थिए । उनले निष्क्रिय कर्जा बढ्दै गएको र १० वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्युपछिको अवस्था समायोजन नगर्दा नै ५.६ प्रतिशतभन्दा माथि रहेकोमा उक्त समायोजनपछि थप बढ्ने अवस्था रहेकोले निष्क्रिय कर्जा व्यवस्थापन कर्जाको माग बढाउने र कर्जा प्रवाहलाई कसरी व्यवस्थित गरेर लैजाने भन्ने नै मूख्य चुनौति रहेको उनको भनाई थियो ।

यसले पनि केन्द्रीय बैंकले आगामी मौद्रिक नीतिमा नियामकीय नीतिको विषय भन्दा मौद्रिक औजारहरुको आवश्यक परिमार्जनमै केन्द्रित हुने देखाउँछ । बैंकरहरुसँगको छलफलमा समेत नियामकीय नीतिमा आवश्यक अनुसार छलफल र समायोजन हुने भन्दै मौद्रिक नीतिलाई मौद्रिक नीतिअनुसारकै सुझाव दिन आग्रह गरेको एक बैंकरले बताए ।

केन्द्रीय बैंकले मौद्रिक नीतिमाथिको छलफल छोट्याउने तयारी गरिसकेको छ । सरोकारवालासँगको छलफल र विभागीय छलफल करिब सकिएपछि केन्द्रीय बैंकले सञ्चालक समितिमा छलफल सुरु गरेको छ । ‘मौद्रिक नीतिमा मस्यौदामाथि छलफल सुरु भएको छैन । तर, आइतबार बिहान गत आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा भने भएको छ,’ राष्ट्र बैंकका एक सञ्चालकले भने, ‘अर्को बैठकमा आगानमी आर्थिक वर्षको मौद्रिक नीतमिाथि छलफल सुरु हुन्छ । चाँडै नै अर्को बैठक बसेर यही साता मौद्रिक नीतिमाथिको छलफल हुनसक्छ ।’

यसपटक मौद्रिक नीतिमा सबै क्षेत्रले मौद्रिक नीतिको प्रभावकारी ‘ट्रान्समिसन मेकानिजम’ बनाएर अर्थतन्त्रमा देखिएको मन्दीको अवस्थाबाट बाहिर ल्याउनुपर्नेमा जोड दिएको देखिन्छ । केन्द्रीय बैंकको विभागीय छलफलमा पनि यी विषयहरु उठेको एक अधिकारीले बताए ।